सेयर बजारमा सामान्य सुधार, विकास बैंक र फाइनान्स कम्पनीमा आकर्षण
काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ । साताको तेस्रो कारोबार दिने नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ अंकमा कायम भएको हो ।
बजारमा कारोबारमा आएका १२६ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से ०.२३ प्रतिशतले बढेको छ । यसैगरी १०७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको भाउ भने यथावत रहे ।
बजारमा कारोबारमा आएकामध्ये ३ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रो र प्रभु महालक्ष्मी लाइफको मूल्यमा सर्वाधिक वृद्धि भएको हो । सिन्धु विकास बैंक र समृद्धि फाइनान्स कम्पनीका सेयरधनी पनि बढी कमाउनेको शीर्ष ५ मा अटाए ।
यसैगरी आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको मूल्य भने १० प्रतिशतले घट्दा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त र सनराइज फोकस्ड इक्विटी फन्ड बढी दरले भाउ घट्ने कम्पनीको सूचीमा माथि रहे ।
नेप्सेमा सामान्य सुधार आउँदा सेन्सिटिभ इन्डेक्स ०.८९ अंकले बढेर ४५०.४८ अंकमा पुगेको छ । यसदिन ४ समूहको उपसूचकमात्र घटेका छन् । इन्भेस्टमेन्ट सूमहको उपसूचक घटबढ नहुँदा बाँकी समूहको उपसूचक बढेका छन् । सबैभन्दा बढी सुधार वित्त समूहमा आयो ।
नेप्से बढेको दिने बजारमा ३०५ स्क्रिप्टका १ करोड २० लाख कित्ता सेयर सेयर खरिदबिक्री भए । ६६ हजार कारोबारमार्फत् ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भयो ।
कारोबार रकमका आधारमा सिन्धु अगाडि हुँदा सप्तकोशी र साहक ऊर्जाको सेयर पनि उल्लेख्य मात्रामा किनबेच भए । सिन्धुको १६ करोड ९३ लाख, सप्तकोशीको १४ करोड ६० लाख र साहसको १४ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्से बढेको दिन बजार पुँजीकरण ४३ खर्ब ९० अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ ।