खुम्बु क्षेत्रमा हेलिकोप्टर उडाउन नदिने निर्णयबाट पछि हट्यो सगरमाथा राष्ट्रिय निकुञ्ज


काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान रोक्ने निर्णय फिर्ता लिएको छ ।

कार्यालयले सबै हेलिकोप्टर कम्पनीहरूलाई पत्र लेख्दै सगरमाथा क्षेत्रभित्र नियमानुसार सेवा प्रदान गर्न अनुमति लिन र तोकिएको राजस्व बुझाउन आग्रह गरेको छ । यस पत्रको प्रतिलिपि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि पठाइएको छ ।

कार्यालयद्वारा सोमबार पठाइएको पत्रमा सगरमाथा क्षेत्रको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने पर्यटक, आकस्मिक उद्धार, तथा आवश्यक सामग्री ढुवानीका लागि हेलिकोप्टर सेवा पुनः सञ्चालन गर्न अनुरोध गरिएको छ । पत्रमा तोकिएका नियम पालना गरी सुरक्षित रूपमा उडान, अवतरण, र ओभरिङ गर्न सकिने उल्लेख छ ।

यसअघि पुस १७ गते (जनवरी १ तारिख) देखि सगरमाथा क्षेत्रभित्र हेलिकोप्टर उडान रोक्ने निर्णय गरिएको थियो । यो निर्णय सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, तथा स्थानीय सरोकारवाला संघसंस्थाले मिलेर गरेका थिए ।

हेलिकोप्टर कम्पनीहरूले यस निर्णयप्रति असहमति जनाउँदै आएका थिए । उनीहरूले उडान र सञ्चालनको अनुमति दिने जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको भएको भन्दै निर्णय अव्यवहारिक रहेको बताएका थिए । सुरक्षासम्बन्धी चिन्ताका कारण केही दिनदेखि क्षेत्रभित्र उडान हुन सकेको थिएन ।

निकुञ्जको यो निर्णयलाई हेलिकोप्टर सेवा सञ्चालकहरूले स्वागत गरेका छन् । कैलाश हेलिकोप्टरका प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डेका अनुसार अनुमति पाउँदा खुसी व्यक्त भए पनि सुरक्षाको प्रत्याभूति नहुँदासम्म उडान सुरु गर्न कठिन हुने बताएका छन् ।

यद्यपि, स्थानीयहरूले भने अझै पनि उडानमा आपत्ति जनाएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले निर्णय पुनर्विचार गर्न आवश्यक ठानेको छैन ।

यो विषयलाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले माघ ११ गते हेलिकोप्टर कम्पनीहरू र खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई समन्वय बैठकमा सहभागी हुन आह्वान गरेको छ ।