राज्य व्यवस्था समितिमा रामहरि खतिवडा र हृदयराम थानीबीच किन भयो विवाद ?



काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की भएपछि बैठक तनाबग्रस्त बन्यो ।

समिति सदस्य थानीले बैठकमा आफ्नो धारणा राख्ने क्रममा सभापति खतिवडाले बारम्बार रोक्ने प्रयास गरेपछि थानी आक्रोशित भएका थिए ।

बैठकको मुख्य एजेन्डा समितिमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने, र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरीमाथि छलफल थियो । छलफलका क्रममा थानीले अख्तियार विधेयकको उपसमितिबाट बुझाइएको प्रतिवेदन लामो समयदेखि अगाडि नबढेको विषयमा प्रश्न उठाए ।

थानीले प्रतिवेदनको प्रगतिबारे बोल्ने क्रममा सभापति खतिवडाले बीचैमा हस्तक्षेप गर्दै विधेयक अघि बढ्ने बताउन खोजे । यो हस्तक्षेपपछि थानीले आक्रोशित हुँदै भने, ‘सभापति कति बोल्नुहुन्छ? म बोल्दिनँ, तपाईं नै बोल्नुस्।’

थानीले आफूले संयोजकत्व गरेको उपसमितिले बुझाएको प्रतिवेदनलाई खतिवडाले ‘आईसीयू’ मा राख्न खोजेको आरोप लगाए । खतिवडाले भने प्रतिवेदन हालसालै बुझाइएको भन्दै विधेयक अघि बढ्ने आश्वासन दिए ।

थानीले आक्रोशित हुँदै बोल्न अस्वीकार गरेपछि सभापति खतिवडाले सांसद ईश्वरी न्यौपाने र नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठलाई धारणा राख्न समय दिए । सांसद श्रेष्ठले भने, ‘सभापतिले अलि बढी बोलेको हो कि भन्ने लाग्यो। बिचमा कुरा काट्दा सिलसिला टुट्छ, जसले नकारात्मक प्रभाव पार्छ।’

थानीले समितिको सञ्चालन प्रक्रिया र सभापतिको शैलीमाथि खुलेर प्रश्न उठाउँदै आफ्नो धारणा राख्न पाउने अधिकार खोसिएको आरोप लगाए । थानी र खतिवडा दुवै नेपाली कांग्रेसका सांसद भए पनि बैठकमा देखिएको यो विवादले समितिको वातावरणमा तनाव सिर्जना गर्‍यो ।

बैठकको अन्त्यसम्म थानीले बोल्न अस्वीकार गरेका थिए भने सभापति खतिवडाले सबैको सहमतिमा विधेयक अघि बढाउने प्रतिबद्धता जनाए ।


क्लिकमान्डु