सगरमाथा क्षेत्रमा हेलिकप्टर नउडाउने वायुसेवा सञ्चालक संघको घोषणा



काठमाडौं । वायुसेवा सञ्चालकले सगरमाथा क्षेत्रमा हेलिकप्टर नउडाउने भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा स्थानीय तहले विवाद झिकेको भन्दै उनीहरुले हेलिकप्टर नउडाउने घोषणा गरेका हुन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत अन्य स्थानीय युवा समूह तथा संघ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण नगर्न भनेका थिए ।

निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रुपमा जनवरी १ तारिखदेखि हेलिकप्टर उडानमा उनीहरुले रोक लगाएका हुन् ।

प्रतिबन्धका विषयमा वायुसेवा सञ्चालक संघ सम्बन्धित पदाधिकारीसँग संघले पटक पटक वार्ता गर्दा पनि कुनै निर्क्यौलमा पुग्न सकेको छैन । हाल खुम्बु क्षेत्रका हेलिप्याडहरुमा झण्डा गाडी अवरोध सृजना गरिएको संघले जनाएको छ । कथमकदाचित आपत्कालिन अवतरण गर्नु परे अवतरण गर्ने स्थान नरहेको संघको भनाइ छ ।

यता वायुसेवा कम्पनीहरु जहाज अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यलाई समाति कारबाही गर्ने भन्ने जस्ता अभिव्यक्ति दिएका छन् । स्थानीय क्लब, युवा समूहलगायत सरोकारवाला निकायले यस्तै धारण व्यक्त गरेपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा हेलिकप्टर नउडाउने भएका हुन् ।

वायुसेवा सञ्चाल संघ नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण हेलिकप्टर उडान आजैदेखि स्थगन गरिएको जानकारी गराएको छ । साथै हेलिकप्टर कम्पनीको सुरक्षाको प्रत्याभुति नभएसम्म साना जहाज कम्पनीले पनि उडान स्थगन गर्ने संघले जनाएको छ ।

नियामक नेपाल उड्डयन प्राधिकरणले भने उडानमा अवरोध गर्नेमाथि कारबाहीको चेतावनी दिँदै आएको छ ।


क्लिकमान्डु