स्वर्णिम वाग्लेसँग हारेका सर्वेन्द्र खनालले एमाले छोडे, कुन पार्टीमा लाग्लान् ?



काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफू हाल कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पारेका छन् ।

स्टाटसमा खनालले भनेका छन्, ‘मेरो राजनीतिक स्थितिबारे अन्योल हटाउन चाहन्छु कि म हाल कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन। राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा ल्याउन र देशलाई महान् बनाउन मेरो प्रयास निरन्तर जारी रहनेछ। देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधि पूरा गरेपछि नेपाल प्रहरीबाट अवकाश पाएका थिए । अवकाशपछि, २०७९ असोज ६ गते उनले नेकपा एमालेमा प्रवेश गरेका थिए ।

एमाले प्रवेश गरेपछि उनले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन लडेका थिए तर रास्वपाका शिशिर खनालसँग पराजित भए । पुनः तनहुँमा भएको उपनिर्वाचनमा एमालेले उनलाई टिकट दिएको थियो, तर त्यहाँ पनि उनी रास्वपाका डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।

खनालले अब कुनै दलमा आबद्ध नभएर देश र जनताको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।


क्लिकमान्डु