२६.५ किलोमिटरको कोदारी राजमार्ग स्तरोन्नति गर्न साढे चार अर्ब प्रस्ताव



चरिकोट । तातोपानी भन्सारसँगको पहुँचमार्ग सहज बनाउन कोदारी राजमार्ग मर्मत तथा स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय चरिकोटले चार अर्ब ४६ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

कार्यालय प्रमुख अमितकुमार श्रेष्ठले तीन खण्डमा बजेट विभाजन गरी प्रस्तावित फाइल राष्ट्रिय योजना आयोगमा पेस भएको जानकारी दिए । प्रस्तावित बजेटमा सहमति कायम भएर अर्थ मन्त्रालयबाट रकमसमेत निकासा हुने कुरामा आशावादी रहेको उनले बताए ।

बाह्रबिसेबाट चीनको सीमा रहेको लिपिङ बजारसम्म २६.५ किलोमिटर रहेको कोदारी राजमार्ग सडक स्तरोन्नति गर्न दुई अर्ब ५३ करोड ५२ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

काभ्रेसँग सिन्धुपाल्चोकको सिमाना छुट्याउने बन्देउदेखि बाह्रबिसेसम्मको २८ किलोमिटर सडकको सामान्य मर्मतका लागि भने ५० करोड माग गरिएको छ । त्यस्तै, विभिन्न ठाउँमा खस्न सक्ने पहिरो रोकथाम र मर्मतका लागि एक अर्ब प्रस्ताव गरिएको छ ।

सडक डिभिजन चरिकोटका सूचना अधिकारी सुरज महर्जनले बन्देउदेखि बाह्रबिसेसम्म सडक मर्मत गर्ने र बाह्रबिसेबाट लिपिङसम्म सडक स्तरोन्नति गर्ने योजना रहेको बताए ।

कोदारी राजमार्गको भौगोलिक जटिलताका कारण दायाँ–बायाँ ३० मिटर मात्रै सडक क्षेत्राधिकार कायम गर्नुपर्ने बाध्यता छ । यसअघि ५० मिटर क्षेत्राधिकार तोकिएको थियो ।

सडक धेरै चौडा गर्ने भूगोल नभएकाले हालका लागि बढीमा ९.४५ मिटर सडक चौडा गरी कालोपत्रे गर्ने कार्यालयको प्रस्ताव छ ।


क्लिकमान्डु