बाढीपहिरोबाट भएको क्षतिमा झण्डै १३ अर्ब रुपैयाँको बीमा दावी



काठमाडौं । गत असोजको दोश्रो साताको बाढी पहिरोबाट भएको क्षतिमा १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ रुपैयाँबराबरको भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दावी परेको छ ।

नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ रुपैयाँ बराबरको दावी सम्पत्ति बीमामा परेको छ । यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दावी परेको छ । त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ ।

मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ ।

त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ । मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा चार करोड चार लाख ९७ हजार रुपैयाँबराबरको रकम माग भएको छ ।

पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ रुपैयाँबराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार छ सय ९५ रुपैयाँ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दावी भएको छ ।

प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दावी रहेकामा एक हजार पाँच सय ८५ वटाको भुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ ।

कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु