नेपाल लाइफले सार्वजनिक गर्यो रक्षा कवच म्यादी जीवन बीमा योजना
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।
एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो ।
यसको न्यूनतम बीमाङ्क रकम ५ लाख रुपैयाँ र अधिकतम बीमाङ्क रकम १ करोड रुपैयाँ रहेको छ । यो योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ ।
बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहने तोकिएको छ ।
यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने छ । यो योजना अन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत अन्त्य हुनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको उनले बताए ।
कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । बीमा योजना छुट्टै बीमालेखको रुपमा पनि लिनुका साथसाथै अन्य ६ वटा योजनामा पुरक करार सुविधाको रुपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन उनले आग्रह गरेका छन् ।