शेरा दरबार जग्गा प्रकरण: दोषीलाई कारबाही गर्न प्रचण्डको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्डले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन ध्यानाकर्षण गराएका हुन् ।

शेरा दरबार जग्गा प्रकरणको निश्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको उनले बताए ।

सरकारको जमिन गैरकानूनी रुपले व्यक्तिको नाममा हाल्ने कार्यमा जो कोही संलग्न भए पनि कानूनको दायरामा ल्याउनुपर्ने उनले बताए ।

ललिता निवासको सयौं रोपनि जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभइ धन्यावाद दिने उनले बताए ।

‘विभिन्न भ्रष्टचारसँग सम्बन्धित फाइलहरुको बारेमा छलफल गर्दैगर्दा जो कोही पनि कानून मिचेर या कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिनुहुँदैन । मैले आफ्नै पार्टीका कोही नेता पनि दोषि देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ, राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानूनी रुपले व्यक्तिको नाममा गर्छ भने त्यो व्यक्ति जो कोही भएपन कानूनको दायरामा ल्याउनुपर्छ,’ उनले भने,’छानबिन गर्दैजाँदा प्रचण्ड नै देखापरे पनि पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने प्रधानमन्त्री सायद म नै थिए ।’

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सीआईबीले पत्र लेखिसकेको छ । शेरा दरबारमा पूर्वप्रधानमन्त्री प्रचण्ड कै स्वकीय सचिवालय सदस्य र माओवादी केन्द्रका चुनवाङ बैठकबाट ९५ जना केन्द्रीय सदस्य बनेका विकेश श्रेष्ठ जोडिएका छन् ।


क्लिकमान्डु