ओलीलाई रावलको प्रश्न: तपाईं माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा किन उठेको ?



काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो निष्कासनको विषयमा कडा प्रतिवाद गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा रावलले आफूलाई दसौँ महाधिवेशनमा अध्यक्ष पदमा उठेको भन्दै प्रश्न गरेको ओलीको भनाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।

रावलले भने, ‘मलाई अध्यक्ष पदमा किन उठेको भनेर प्रश्न गर्दा प्रतिप्रश्न गर्न मन लाग्यो— के तपाईंले पनि आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्नुभएको होइन?’

उनले थपे, ‘के कुनै विशेष ठाउँमा जन्मेको, कुनै थर भएको, वा अरू कुनै कारणले मात्र अध्यक्ष पदमा उठ्न पाइन्छ? पार्टीभित्र सुशासन, पारदर्शिता, र लोकतान्त्रिक मान्यताका आधारमा प्रतिस्पर्धा गर्नु अपराध हो?’

भीम रावलले आफ्नो ५१ वर्षे राजनीतिक योगदानलाई बेवास्ता गर्दै पार्टीबाट निष्कासन गर्नु अन्यायपूर्ण भएको बताए । उनले एमाले नेतृत्वले पार्टी सदस्यसमेत नरहने गरी गरिएको कारबाहीलाई गुटबन्दी र अधिनायकवादी मानसिकताको परिणाम भने।

‘मलाई महाधिवेशनमा अध्यक्षमा उठेको कारण कारबाही गर्ने ओलीले भ्रष्टाचार, दलाली, र अनैतिक काममा संलग्नहरूसँग साँठगाँठ गरेर सुशासन र समाजवादको कुरा गर्नु पत्याउन नसकिने अवस्था छ,’ रावलले भने।

रावलले ओलीसँग संवादका लागि पटक-पटक प्रयास गरे पनि ओलीले समय नदिएको गुनासो गरे। उनले ओलीले आफ्नो बारेमा ‘भीम रावलले कुरा गर्न चाहँदैन’ भन्ने कुप्रचार गरेको दाबीसमेत गरे।

‘पार्टीभित्रै छलफल र सहमति खोज्ने मेरो प्रयासलाई नजरअन्दाज गर्दै पार्टीलाई गुटबन्दीमार्फत चलाइएको छ,’ उनले भने।

रावलले पार्टीभित्र गुटबन्दी चलाएर जनताको हितमा काम गर्नेलाई निषेध गर्ने र प्रतिनिधिसभा चुनावमा टिकटसमेत नदिने ओलीको शैली जवजको सिद्धान्तविपरीत भएको बताए ।

‘जनताको पक्षमा उभिएका नेताहरूलाई पन्छाएर पार्टीलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्नु देशको लोकतन्त्र र पार्टीका मूल्यमान्यतामाथि प्रहार हो,’ उनले भने।


क्लिकमान्डु