ओलीमाथि रावलले गरे प्रश्नैप्रश्न: जवाफ नदिए ०८४ मा ‘पतन’ हुने दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै नेता डा. भीम रावलले आफूलाई पार्टीबाट निष्कासन गरेको विषयमा गम्भीर प्रश्न उठाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै रावलले ओलीले महाधिवेशनका क्रममा देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विभिन्न आरोप र प्रश्न सार्वजनिक गरेका हुन् ।
रावलले भने, ‘मैले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएको भरमा ४९ वर्षसम्मको सदस्यता खोस्ने काम कसरी जायज हुनसक्छ ? पार्टी स्वेच्छाचारी रूपमा चलाउँदै निरंकुशता तर्फ लाग्नु गलत होइन र?’ उनले ओलीसँग यी प्रश्नहरूको स्पष्ट जवाफ मागेका छन्।
उनले ओलीको ‘मिसन ०८४’ लाई ‘मिसन पतन’मा परिणत हुने चेतावनीसमेत दिए । उनले थपे, ‘यदि यी प्रश्नहरूको उत्तर दिन नसक्ने हो भने आगामी निर्वाचनमा एमालेको पतन हुनेछ ।’
रावलले महाधिवेशनका क्रममा आफ्ना समर्थक प्रतिनिधिहरूलाई धम्की दिएको, मतदानमा अवरोध पुर्याएको, र सदस्यता खारेज गर्ने निर्णय विधिसम्मत नभएको दाबी गरे । साथै, उनले प्रतिनिधिहरूलाई दुई दिनसम्म अलपत्र पार्ने र एक-एक गरेर धम्क्याउने ओलीको शैलीप्रति कटाक्ष गर्दै प्रश्न गरे, ‘चुन्ने र चुनिने अधिकारको प्रयोग गर्नु गलत हो ?’