ऊर्जा विकास मार्गचित्र स्वीकृत गर्ने सरकारको निर्णयलाई इप्पानको स्वागत- ‘हातेमालो गर्न तयार छौं’



काठमाडौं । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ स्वीकृत गर्ने सरकारको निर्णयलाई निजी क्षेत्रले स्वागत गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले सरकारले मार्गचित्र स्वीकृत गर्नु सुखद निर्णय भएको बताए ।

‘२ वर्ष पहिले नै स्वीकृत हुनुपर्ने मार्गचित्र अहिले स्वीकृत भएको छ । यो सरकारको राम्रो कदम हो,’ खतिवडाले भने, ‘स्वीकृत गरेर मात्रै  हुँदैन । अब काम गर्नुपर्नेछ । निजी क्षेत्र सरकारसँग हातेमालो गरेर १० वर्षमा २८,५०० मेगावाट उत्पादन गर्ने लक्ष्य पूरा गर्न सक्षम छ ।’

उनले ऊर्जामार्फत नै देश आर्थिक उन्नतितिर जाने भन्दै सरकारले निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यका साथ तयार पारेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको  छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मार्गचित्र स्वीकृत गरेको हो । गत वर्ष नै मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट फर्किएको थियो । त्यसपछि पुन: ऊर्जा मन्त्रालयले केहि फेरबदल गरेर स्वीकृतिका लागि पठाएको थियो ।

ऊर्जा विकासको मार्गचित्रमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजना ४ वर्षमा, अर्ध जलाशययुक्त ६ वर्षमा र जलाशययुक्त ७ वर्षमा निर्माण सक्ने लक्ष्य छ । २८,५०० मेगावाटका आयोजना निर्माणका लागि ४६.५ अर्ब अमेरकी डलर लाग्ने अनुमान छ ।

काठमाडौं उपत्यकालगायत ७ प्रमुख क्लष्टर क्षेत्रहरुको  सन् २०५० सम्मको माग आपूर्ति  गर्न आवश्यक प्रसारण तथा १५ हजार मेगावाटको निर्यात गर्ने लक्ष्य छ । भारत र बंगलादेश लगायतका देशमा निर्यातको सम्भावना देखाइएको छ । सन् २०३० सम्म भारतमा १० हजार मेगावाट निर्यात गर्ने र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने पूर्वाधार तयार पारिने उल्लेख छ ।


क्लिकमान्डु