सन् २०२५ कार प्रेमीहरुका लागि रोमाञ्चक हुने पक्का, यी हुन् बजारमा आउन लागेका एड्भान्स कारहरु



काठमाडौं । विद्युतीय कारहरुको लोकप्रियता तिव्र रुपमा बढिरहेका बेला सन् २०२५ कार प्रेमीहरुका लागि रोमाञ्चक हुने पक्का छ ।

यो वर्ष केवल विद्युतीय गाडीहरुमा मात्र नभई डिजाइन,  प्रविधि र प्रदर्शनमा नयाँ आयाम थप्ने गाडीहरु विश्व बजारमा आउँदैछन् ।

तीब्र रुपमा कारहरुमा भइरहेको प्रविधिको विकासले एडभान्स फिचर भएका कारहरु बजारमा आइरहेका छन् । जसको मूल्य समेत घटिरहेको छ । विद्युतीय गाडीको ब्याट्री सस्तो भइरहेका कारण ईभी कारहरुको मूल्य घटिरहेको छ ।

सन् २०२५ कस्ता कस्ता फिचर भएका कुन कुन कम्पनीले एडभान्स कार ल्याउँदैछन् ?, कार प्रेमीहरुको मनमा यो प्रश्न उब्जिएको हुन सक्छ । कसले कुन कार सार्वजनिक गर्दैछ ?

एक दर्जनबढी एडभान्स कारहरु आउने कम्पनीहरुले घोषणा गरिसकेका छन् । सन् २०२५ केवल नयाँ गाडीहरूको लन्चमा सीमित छैन, यो वर्ष नयाँ प्रविधिहरू, स्वचालित प्रणालीहरुमा आधारित विद्युतीय गाडीहरूको युग प्रारम्भ हुने अपेक्षा गरिएको छ ।

हुन्डाई क्रेटा ईभी

हुन्डाईको बहुप्रतिक्षित कार क्रेटा ईभी भारतीय बजारमा जनवरी १७ मा लन्च हुने भएको छ । हुन्डाई इण्डियाका अनुसार भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ को  पहिलो दिनमै हुन्डाई क्रेटा ईभी लन्च हुनेछ । मध्यम आकारको एसयुभी इन्टर्नल कम्बुस्चन इन्जिन (आईसीई)मा लोकप्रिय क्रेटा ईभीमा समेत लोकप्रिय हुने कम्पनीको दाबी छ । लुक्स र डिजाइन क्रेटाको जस्तै हुनेछ भने इन्टेरियरमा केहि परिवर्तन हुने कम्पनीले बताएको छ ।

क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान हुने कम्पनीले बताएको छ । क्रेटा ईभीले भारतमा टाटा कर्भ ईभी, एमजी जेडएस ईभी, महिन्द्रा बिई सिक्स र छिट्टै लन्च हुने मारुती सुजुकी ई भिटारामा जस्ता कारहरुसंग प्रतिस्पर्धा गर्नेछ । 

हुन्डाई क्रेटा ईभीको इन्टेरियरमा फ्रेस अपडेट हुनेछ । नयाँ स्टीयरिङ ह्वील डिजाइन, ड्यासबोर्ड लेआउटमा परिमार्जन हुनेछ ।

यो नेपालमा समेत प्रतिक्षा गरिएको कार हो । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूह हो । लक्ष्मी समूहको लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी ल्याउने प्रक्रिया समेत थालिसकेको छ । भारत लन्भ लगत्तै ल्याउने तयारी छ । यहि ल्याएर एसेम्बल गर्नुभन्दा आयात गर्नुभन्दा आयात सस्तो पर्छ । सोही कारण कम्पनीले आयात गर्न लागेको छ ।

क्रेटा आईसीईभन्दा ईभी सस्तो हुनेछ । क्रेटाको मूल्य नेपाली बजारमा ५४ लाख ५६ हजार रुपैयाँदेखि ७६ लाख ९६ हजार रुपैयाँसम्म पर्छ ।

‘आधिकारिक रुपमा कम्पनीले मूल्य सार्वजनिक गरेको छैन । तर आईसीईभन्दा सस्तो नै हुन्छ । आयात गर्दा ईभीमा सहुलियत रहेका कारण सस्तो हुन्छ,’ लक्ष्मी इन्टरकन्टिनेन्टलका एक अधिकारीले भने, ‘जनवरी १७ मा भारतमा लन्च हुन्छ । फेब्रुअरीमा नेपाली बजारमा आइसक्छ ।’

तस्बिर: Gaadiwaadi.com

नेपाली बजारमा चिनियाँ ब्राण्डका कारहरु बिवाईडी एट्टो थ्री, एमजी जेड एस ईभी, सेरेस-३ लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

लक्ष्मी ग्रुप अन्तगर्तको लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासी एसेम्बल प्लान्ट स्थापना गरेको छ । यो प्लान्टमा अहिले भेन्यु कार एसेम्बल भइरहेको छ ।

किया केरेन्स ईभी

कियाको केरेन्स ईभी २०२५ अप्रिलमा सार्वजनिक हुदैछ । यो ७ सिट क्षमताको केरेन्स ईभी कियाको पहिलो बहुउदेश्यीय (एमपीभी) कार हो । भारतमा २० लाख भारु पर्ने अनुमान गरिएको छ । फुल चार्जमा ४०० देखि ५०० किमीसम्म रेन्ज दिने अनुमान गरेको छ । यद्धपी कम्पनीले यसबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन् ।  कियाले सन् २०२७ सम्म १७ नयाँ मोडल बजारमा ल्याउने तयारी गरेको छ ।

तस्बिर:Autocarindia.com

कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज हो । कम्पनीले नेपालीमा बजारमा विभिन्न मोडलका कारहरु आयात गरेर बेचिरहेको छ । केहि वर्ष पहिले सबैभन्दा लोकप्रिय ब्राण्ड समेत बनेको थियो । 

टोयोटा अर्बन क्रूजर ईभी

यो वर्ष टोयोटाको अर्बन क्रुजर ईभी बजारमा आउँदैछ । २०२५ मेमा यो कार लन्च हुने अपेक्षा गरिएको छ ।

टोयोटाले आफ्नो विद्युतीय एसयुची मारुती, ई भिटारा जस्तै डिजाइनमा ल्याउँदैछ ।  नेपालमा टोयोटाको आधिकारिक बिक्रेता  युनाइटेड ट्रेडर्स सिन्डिकेट हो । अन्तर्राष्ट्रिय बजारमा आउने बित्तिकै नेपाल आउने कम्पनीको दाबी छ ।

यसमा डुअल–स्क्रिन लेआउटको साथ उही ड्यासबोर्ड छ । जसमा १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर ड्राइभर सिट, सनरुफ, रिक्लाइनिङ रियर सिट, जेबीएल अडियो सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी यस गाडीका प्रमुख विशेषताहरु रहेको बताइएको छ ।

 ६१ किलोवाट आवर ब्याट्री भएको गाडीको आउटपुट क्रमशः १८१ बीएचपी हुनेछ । १३५ किलोवाटको मोटर रहेको यस गाडीको अधिकतम टर्क ३०० एनएम रहने छ ।

४९ किलोवाट आवर ब्याट्री भएको अर्बन क्रुजर एफडब्लूडी संस्करणमा उपलब्ध हुनेछ । यसमा १०६ किलोवाटको मोटर छ । त्यसले १८९ एनएम टर्क प्रदान गर्छ ।

महिन्द्रा एक्सयुभी ४०० ईभी/एक्सयुभी फोर एक्सओ  (XUV400 EV/XUV 4XO)

महिन्द्राले २०२५ मा यसको एक्सयुभी ४०० ईभी ( XUV400 EV) को फेसलिफ्ट संस्करण एक्सयुभी फोरएक्सओको रुपमा लन्च गर्ने तयारी गरेको छ ।  

हुन्डाई भेन्यू ईभी

हुन्डाईको भेन्यु ईभी सार्वजनिक हुँदैछ । हुन्डाई भेन्यू ईभी ब्रान्डको सबैभन्दा सस्तो विद्युतीय एसयभी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको दाबी छ। यो कारले ३०० देखि ३५० किलोमिटरको दाबी गरिएको छ ।

टेस्ला रोड्स्टर (अन्तर्राष्ट्रिय)

टेस्लाले आफ्नो सुपरकार रोड्स्टरको दोस्रो संस्करण ल्याउँदैछ । अत्याधुनिक डिजाइन र उन्नत ब्याट्री प्रविधि हुनेछ । २०२५ को मध्यमा लन्च हुने अनुमान गरिएको छ । 

टेस्लाको सबैभन्दा पावरफुल सुपरकार रोड्स्टरको सबैतिर चर्चा छ ।  रकेट इन्जिनका कारण यो कार चर्चामा छ ।

मारुती सुजुकी ई भिटारा

मारुतीले आफ्नो पहिलो विद्युतीय एसयुभी ई भिटारा सार्वजनिक गर्ने तयारी गरेको छ फुल चार्जमा ५५० किमी रेन्ज दिने यो कारको प्यानोरामिक सनरूफ, डुअल स्क्रिन, र एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) छ । २०२५ को जनवरीमा लन्च गर्ने तयारी छ । बिक्री मार्चदेखि बिक्री गर्ने तयारी छ ।

फ्रन्टह्वील ड्राइभ अप्सनमा १०६ र १३५ किलोवाटको दुई मोटर अप्सन रहेको छ । जसमा ४९ किलोवाट आवरको ब्याट्री अप्सनसँग दिएको मोटरले १४४ हर्सपावर तथा ६१ किलोवाट आवरको ब्याट्री अप्सनसँग दिएको मोटरले १७४ हर्सपावर र १८९ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

त्यस्तै, ई अलग्रिप अप्सन भएको अलह्वील दिएको मोटरले भने कम्बाईन १८४ हर्सपावर तथा ३०० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

टाटा सफारी ईभी

टाटा सफारी ईभी २०२५ को फेब्रुअरीमा सार्वजनिक हुँदैछ । यो कारको भारतमा ३२ लाख भारु पर्ने अनुमान छ । ५०० किमीसम्म रेन्ज दिन्छ ।

७ एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटर,एडास सिस्टमहरु रहेका छन् । यो कार एमजी जेड एस ईभी, हुन्डा कोना इलेक्ट्रिक, बिवाईडी एट्टो थ्री, मारुती ईभीएक्ससँग प्रतिस्पर्धा गर्ने छ।

मर्सिडिजको इक्विजी लन्च गर्ने तयारी छ । २०२५को पहिलो त्रैमासनमा लन्च गर्ने तयारी छ । फेरारी पुरोसाङगुई ईभी पनि लन्च हुन लागेको छ । यो लक्जरी कार २०२५ को अन्त्यतिर लन्च हुनेछ । सुजुकीको ईभी एक्स पनि सार्वजनिक हुँदैछ । किया ईभी-५ पनि सार्वजनिक हुँदैछ ।


क्लिकमान्डु