२ वर्षमा ३००% लाभांश दिएको फिनटेक उद्योगमा एकछत्र राज गर्ने ‘एफवान सफ्ट’को आम्दानी किन घट्यो ?



काठमाडौं । ईसेवा, फोनपेलगायत माध्यमबाट डिजिटल कारोबारको सेवा दिँदै नेपालको फिनटेक उद्योगमा एकछत्र राज गर्ने एफवान सफ्ट इन्टरनेसनलको व्यवसाय आकार खुम्चिएको छ । २ वर्ष अघिसम्म १५ अर्बभन्दा बढी आम्दानी गर्ने एफवान सफ्टले हाल मुस्किलले १३ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

सन् २०२२ मा एफवान सफ्टले १५ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२३ र २०२४ मा यस्तो आम्दानी १२ अर्ब १९ करोड र १२ अर्ब ८४ करोडमा सिमित भएको हो ।

२०२४ मा कम्पनीको नाफा मार्जिन १.८ प्रतिशत छ । अघिल्लो साल यस्तो सञ्चालन नाफा कुल आम्दानीको १.९ प्रतिशत थियो । अर्थात् करिब १३ अर्ब गर्ने कम्पनीको ब्याज, कर र डिप्रिसिएसन अघिको नाफा २३ करोड रहेको छ । हालको अवस्थामा एफवान सफ्टले करिब ६५ करोड रुपैयाँ ऋण लिएको छ ।

सन् २००४ देखि सञ्चालनमा आएको फोनपे मोबाइल वालेट ईसेवा, पेमेन्ट गेटवे फोन पे, रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्स्फर जस्ता कम्पनीको माउ कम्पनी हो । विश्वास ढकालको ३५ प्रतिशत स्वामित्व रहेको एफवान सफ्टमा कान्तिपुर मिडिया ग्रुप, सुवास शर्मा लगायतको लगानी रहेको छ ।

एफवान सफ्ट नेपालमा फिनटेक उद्योगको एक स्थापित कम्पनी हो । सन् २०२४ सम्ममा ४५ बैंक तथा वित्तीय संस्थाले कम्पनीले निर्माण गरेको मोबाइल तथा इन्टरनेट बैंकिङ सफ्टवेयर प्रयोग गर्दै आएका छन् । एफवान सफ्ट डिजिटल टपअप तथा बल्क एसएसमएसलगायत अन्य सेवा दिँदै आएको छ ।

एफवान सफ्टको आम्दानीमा यसरी गिरावट आउनुको कारण हो, ईसेवाबाट आफ्नो लगानी झिक्नु । ईसेवामा एफवान सफ्टको सतप्रतिशत स्वामित्व थियो । जसमध्ये कम्पनीले ८० प्रतिशत लगानी झिकेको छ ।

ईसेवा एफवान सफ्टको सबैभन्दा बढी नाफा गर्ने सहायक कम्पनी हो । एफवान सफ्टले ईसेवामा रहेको ८० प्रतिशत सेयर आफ्नै सेयरधनीलाई बेचेको हो । ईसेवामा रहेको सेयर बेचेर सबै सेयर धनीको हिस्सा एफवान सफ्टमा जति छ ईसेवामा पनि त्यति नै बनाइएको हो ।

यसो त एफवान सफ्टले पछिल्लो समय नेपाल मोबिलिटी सोलुसन्स (जुमजुम नामको राइड सेयरिङ एप) सञ्चालनमा ल्याएको छ।

यसरी एकातिर सबैभन्दा बढी लाभ दिइरहेको ईसेवाबाट लगानी झिक्नु र अर्कातर्फ जुमजुममा लगानी थप्नुले कम्पनीको आम्दानी कम भइरहेको छ । यद्यपि, ईसेवामा बाँकी रहेको स्वामित्व र फोनपेको सञ्चालन तथा वित्तीय प्रोफाइलमा सुधारले आम्दानी सुधारिने अपेक्षा गरिएको छ ।

ईसेवाको सेयर बेच्दा भएको आम्दानी कम्पनीको गैरसञ्चालन आम्दानीको ७९ प्रतिशत हुन आउँछ यसले कम्पनीको खुद मार्जिनमा निकै सुधार भएको छ ।

ईसेवाको सेयर बेच्दा कम्पनीले वार्षिक ५५ प्रतिशतको वार्षिक नाफा वृद्धिदरमा निकै नै दबाब पर्ने बताइएको छ । यद्यपि अर्को कम्पनी फोनपेको खुद नाफा अघिल्लो वर्षको तुलनामा साढे ८ गुणाले बढेको छ ।

यता एफवान सफ्टले पछिल्लो २ वर्षमा अपेक्षा गरेभन्दा बढी लाभांश वितरण गरेको छ । सन् २०२२ मा चुक्तापुँजीको २०० प्रतिशत र २०२३ मा १०० प्रतिशत लाभांश वितरण गरेको छ । २०२३ मा वितरण गरिएको लाभांशको ४८ प्रतिशत त अन्तरिम लाभांशको रुपमा वितरण गरिएको थियो ।

२०२४ मै एफवान सफ्टले नयाँ सहायक कम्पनीमा लगानी बढाउन कर्जा लिने तयारी गरेको छ ।

ई-सेवामा झैं एफवान सफ्टमा पनि ३५ प्रतिशत स्वामित्व विश्वास ढकालको, २५ प्रतिशत अस्गर अलीको, २० प्रतिशत कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको, १० प्रतिशत सुवास शर्माको, ५ प्रतिशत सुभास सापकोटाको रहेको छ ।

एफवान सफ्ट ग्रुप अन्तर्गत ईसेवा, ईसेवा मनि ट्रान्सफर, फोन पे, फोन लोन, फोन नेक्ट्स, कोजेन्ट हेल्थ, फोन पोइन्ट्स, दियालो टेक्नोलोजी, फोन इन्सोरेन्स, एक्टेन्सो डेटा, लोजिका बेन्स, स्वास्तिक कलेज, जुम जुम र ई सेवा ट्राभल एन्ड टूर रहेका छन् ।

नेपालको नम्बर वान सफ्टवेयर कम्पनीको रुपमा आफूलाई स्थापित गर्न खोजेको एफवान सफ्टले अधिकांश बैंक तथा वित्तीय संस्थाका लागि मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रणाली निर्माण गरेको छ । सन् २०२४ को जुलाईसम्ममा ५४ मध्ये ४५ वटा बैंक तथा वित्तीय संस्थाहरूले कम्पनीले बनाएको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङ सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

धेरै भन्दा धेरै व्यक्तिहरुलाई मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको एफवानले २ करोड व्यक्तिलाई फोनपे को पहुँचमा पुगाएको छ । फोन पेमार्फत एकै दिनमा १ करोड रुपैयाँ ट्रान्सफर भएको रेकर्ड पनि छ ।

एफवानले २०२३ मा आफ्ना नयाँ ब्रान्ड जुम जुम र फोन पोइन्ट्स स्थापना गर्न सफल भएको छ । फोन पेमा १३ लाख खुद्रा व्यापारी जोडिएका छन् । यस्तै ३ करोड ७० लाख रुपैयाँ ऋण उपलब्ध गराएको छ ।

एफवान सफ्टको सञ्चालकहरु ढकालसँगै सिरोहिया, सुवास शर्मा, ईसेवाका अध्यक्ष परशुराम कुँवर क्षेत्री, रोशन लामिछाने र फोन पेका अध्यक्ष सचिन जोशी रहेका छन् ।

एकीकृत वित्तीय विवरण अध्ययन गर्दा सन् २२ मा कम्पनीले २२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेकामा सन् २०२३ मा १ अर्ब कम अर्थात् २१ अर्ब ९२ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

सहायक कम्पनीले लगानी गर्ने हेतुले कम्पनीले ८१ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।

४९ करोड रुपैयाँ दीर्घकालीन ऋणका लागि कम्पनीले इक्रा एनपी एल ट्रिपल बी प्लस र बाँकी अल्पकालीन कर्जाका लागि इक्रा एनपी एटु रेटिङ पाएको छ ।


भुपेस उपाध्याय