इटहरी उपमहानगरपालिका अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय
इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि राखिएको शंकास्पद वस्तु मंगलबार नेपाली सेनाले निष्क्रिय पारेको छ ।
आफूलाई राजावादी बताउने समूहले उक्त स्थानमा बम राखेको दाबी गरेपछि सुरक्षाकर्मीले तुरुन्तै कारबाही थालेका थिए ।
सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार बिहानै बम राखिएको फोन आएको थियो ।
सूचनामा आफूहरू राजावादी समूह भएको र सशस्त्र संघर्ष सुरू भइसकेको भन्दै इटहरी उपमहानगरपालिका अगाडि, बुढीखोला र धरानको भोटेपुलमा बम राखिएको उल्लेख गरिएको थियो ।
इटहरी उपमहानगरपालिका अगाडि प्रेसर कुकरमा तार बेरेको झुक्याउने सामग्री फेला परेको र त्यसलाई निष्क्रिय पारिएको छ। तर, अन्य दुई स्थानमा भने कुनै पनि शंकास्पद वस्तु फेला परेन ।
यस घटनाका कारण केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । अहिले इटहरीको अवस्था सामान्य रहेको र यातायात सञ्चालनमा फर्किएको प्रहरीले जानकारी दिएको छ ।