भारतीय टाटा समूहले ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने, ७ नयाँ निर्माण प्लान्ट


काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक तथा व्यापारिक घराना टाटा समूहले आफ्ना विभिन्न परियोजनामार्फत ५ लाख जनालाई नयाँ रोजगारी उपलब्ध गराउने तयारी गरेको छ ।

यो समूहले आगामी ५ बर्षमा ५ लाखभन्दा बढीलाई नयाँ रोजगारी उपलब्ध गराउने तयारी गरेको हो । टाटा समूहको चेयरम्यान चन्द्रशेखरनले यो योजना कार्यान्वयनमा ल्याउन लागेको घोषणा गरेका हुन् ।

नयाँ बर्षको पूर्व सन्ध्यामा औपचारिक रुपमा घोषणा गर्दै चन्द्रशेखरनले भने,‘हाम्रो समूह आगामी आधि दशकमा ५ लाख जनाको लागि निर्माणसम्बन्धी रोजगारीको अवसर सिर्जना गर्ने योजना तयार पारेको छ ।’

उनका अनुसार टाटा समूहअन्तर्गत भारतभरका कारखाना र परियोजनाअन्तर्गत गरिएको लगानीको प्रतिफलअनुसार यो रोजगारीको अवसर सिर्जना हुने भएको हो ।

टाटा समूहले हालै व्याट्री, सेमीकन्डक्टर, इलेक्ट्रिक सवारी साधन, सोलार इक्वीपमेन्टसहित विभिन्न प्रकारको क्रिटिकल हार्डवेयरजस्ता नौलो उत्पादन गर्न थालेको छ ।

यस्ता उत्पादन गर्न ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना हुने भएकाले आगामी ५ बर्षमा ५ लाखभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्न सकिने उनले आफ्ना सुभेच्छुकलाई नयाँ बर्षको शुभकामना मन्तव्यमा भनेका छन् ।

चन्द्रशेखरनका अनुसार यस्ता निर्माणमुखि रोजगारी बाहेक टाटा समूहले आफ्नो रिटेल तथा प्रविधि सेवा(टेक सर्भिस), एयरलाइन्स र होस्पिटालिटी उद्योगसहित अन्य क्षेत्रमार्फत पनि रोजगारीको अवसर सिर्जना हुनेछ ।

यसका साथै आर्टिफिसियली इन्टेलिजेन्स क्षेत्रबाट पनि ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना गरिनेछ ।

टाटा समूहको सुरु भयो ७ नयाँ निर्माण प्लान्ट

टाटा समूहले भारतको गुजरातको धोलेरामा भारतको पहिलो सेमिकन्डक्टर प्लान्ट र आसाममा नयाँ सेमीकन्डक्टर ओसाट प्लान्टसहित ७ वटा निर्माणसम्बन्धी कारखानाको निर्माण कार्य सुरु गरेको छ ।

भारतकै कर्नाटकको नरसापुरामा इलेक्ट्रोनिक्स असेम्वल कारखाना, कर्नाटकको बेंगलुरुमा नयाँ एआरओ कारखाना पनि निर्माण हुन थालेको छ । यसका साथै गुजगारको सानन्द र बेलायतको समरसेटमा व्याट्रीको नयाँ कारखाना निर्माण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

टाटा समूहले हालै गुजरातको बडोदरामा सीटुनाइनफाइभ भन्ने नामको असेम्वल कम्पनीको उदघाट्नसमेत गरिसकेको छ । यस्तै तमिलनाडुको तिरुनेलवेलीमा सोलार मोडयुलको उत्पादन पनि सुरु गरि सकेको छ ।

टाटा समूहको चेयरम्यान शेखरनले आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) र उत्पादन क्षेत्रमा सिर्जना हुने अवसर प्रति साकारात्मक प्रतिक्रियासमेत दिएका छन् ।

‘यस्तो योजनाले हामीसहित भारतको लागि उत्साहजनक सन्देश दिएको छ । योभन्दा पनि ठूलो बिषय के हो भने यस्ता योजनाहरुमार्फत १० सौं लाख युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सक्छ,’ चन्द्रशेखरनले भने,‘मलाई अझै खुशी लाग्नेछ, यस्ता योजनामार्फत वर्कफोर्समा हरेक महिना सहभागी हुने जनसंख्याको अवस्था हेरेर ।’