मेलम्ची प्रशोधन केन्द्रको चार अर्बको ठेक्कामा मिलेमतोको आरोप
विराटनगर । मेलम्ची खानेपानी विकास बोर्डले काठमाडौंले एमएलडी सुन्दरीजल जल प्रशोधन केन्द्र निर्माण गर्नका आह्वान गरेको ठेक्कामा मिलेमतो भएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ ।
वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड दमक झापाका निर्माण व्यवसायी पशुपति बरालले चार अर्बको लगानीमा बन्न लागेको उक्त प्रशोधन केन्द्रको ठेक्का आह्वान गर्दा नै केही व्यवसायी र कार्यालयको मिलेमतो भएको दाबी गरेका हुन् ।
ठेक्कामा खानेपानी कार्यालयले नेपालका केही निर्माण व्यवसायीहरूको र मेलम्ची खानेपानीका कर्मचारीहरूको मिलेमतोमा गुणस्तरका कुराहरू र उक्त परियोजनामा २२५ मिलियन लिटर प्रतिदिन क्षमताको पानी प्रशोधन प्लान्टको डिजाइन, निर्माण र सञ्चालनको निर्माण व्यवसायीले नै आफैँ डिजाइन गरी ठेक्कामा समावेश गर्ने बोलपत्र भर्नुपर्ने व्यवस्था लागु गरेको दाबी गरिएको छ ।
‘यस विषयमा न्यायिक छानबिन गरी त्यस कार्यालयबाट छोटो समयमा निकालिएको बोलपत्रलाई पुनः म्याद थप गरी सबै समक्ष प्रतिस्पर्धा र पारदर्शिता अपनाइ देशको बजेट जोगाउन सम्पूर्णमा आ–आफ्नो पक्षबाट पहल गरी प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गरियोस्,’ बरालले प्रधानमन्त्री कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।
बरालले दुई–चार जना नेपालका ठेकदार तथा निर्माण व्यवसायीहरूले पैसाको लेनदेन कारोबार गरी कुनै एक व्यक्तिको फार्मलाई पर्ने गरी ठेक्का आह्वान गरेको दाबी पनि गरेका छन् ।
उनले उक्त ठेक्कालाई रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउँदै ठेक्का नेपालको कानुनअनुसार सबै पक्षसँग प्रतिस्पर्धा हुने गरी कागजात तथा उक्त परियोजना निर्माण गर्दा अथवा डिजाइन गर्दा लाग्ने उपर्युक्त कार्यालयले दिनुपर्ने समय छोट्याइ प्राप्त मात्रामा पुग्ने गरी वा पुनः ठेक्काको म्याद थप गरी यस्ता विषयबाट हुने हानि नोक्सानीबाट बचाउन पनि माग गरेका छन् ।
मेलम्ची खानेपानी विकास बोर्डले पानीपोखरी, काठमाडौँमार्फत ६ नोभेम्बर, २०२४ मा बोलपत्र आह्वान गरेको थियो ।
उक्त ठेक्कामा डिजाइन–निर्माण र सञ्चालन सम्झौता तथा पानी पूर्वाधार परियोजनाहरूको लागि ठेक्का बापतको धरौटी आठ लाख अमेरिकी डलर अर्थात् नेपाली १० करोड ९६ लाख ३२ हजार ५८० रुपैयाँ माग गर्दै चार अरब ३८ करोड ४९ लाख ४३२ रुपैयाँ बराबरको ठेक्का आह्वान भएको थियो ।
उक्त प्रशोधन केन्द्र नेपाल सरकार र विश्व बैंकको संयुक्त लगानीमा बन्न लागेको हो ।