देउवासँग कुनै मतभेद छैन, गगन मसँगै छन्: शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नभएको स्पष्ट पारेका छन् ।

प्रेस युनियन धनुषाले जनकपुरधाममा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले पार्टीभित्र आफ्नो र सभापतिको सम्बन्धमा पूर्ण सहकार्य रहेको बताए । उनले पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नरहेको जिकिर गरे।

पार्टीभित्रका बहसलाई सञ्चारमाध्यमले बढाइचढाई गर्ने गरेको आरोप लगाउँदै कोइरालाले गगन थापा आफूहरूसँगै रहेको स्पष्ट पारे ।

उनले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उमेदवारी दिने विषयमा कुनै छलफल नभएको उल्लेख गरे । उनका अनुसार पार्टीको विधानले १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेतालाई सभापति पदका लागि उम्मेदवार बन्ने अधिकार प्रदान गरेको छ।

गगन थापा र पूर्वराजाबीच भेटवार्ताको प्रसंगमा उनले आफूलाई कुनै जानकारी नभएको बताए।

त्यस्तै, कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार गठन गर्नु आवश्यक भएको धारणा राखे ।

उनले संविधान सुधारका लागि दुई दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार संविधान सुधारका लागि कांग्रेस र एमालेले गृहकार्य अघि बढाइसकेका छन् ।

कोइरालाले हालको गठबन्धन सरकार दुई दलको सहमतिमा बनेको उल्लेख गर्दै डेढ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने योजना रहेको बताए । साथै, कांग्रेसको नेतृत्वमा २०८४ सालको निर्वाचन हुने दाबी पनि उनले गरे ।


क्लिकमान्डु