दक्षिण कोरियामा विमान दुर्घटनामा १७९ को मृत्यु, क्यानडामा अर्को दुर्घटनामा बचे यात्रु
एजेन्सी । दक्षिण कोरियाको मुआन विमानस्थलमा आइतबार एउटा बोइङ ७३७–८०० विमान अवतरण गर्ने क्रममा आगलागी हुँदा १७९ यात्रुको मृत्यु भएको छ भने दुई जना मात्र जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो घटना उस्तै प्रकारको अर्को विमान दुर्घटनाको केही घण्टाभित्रै भएको हो ।
दक्षिण कोरियाको मुआनमा जेजू एयरको विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।
योनहाप समाचार एजेन्सीले विमानको अवतरणको क्रममा चरा ठोक्किँदा ल्याण्डिङ गियरमा समस्या उत्पन्न भएको र त्यसका कारण विमान रनवेबाट बाहिर निस्किएर बारमा ठोक्कियो र आगलागी भएको हुन सक्ने जनाइएको छ ।
स्थानिय अधिकारीहरूले सुरुवातमा २८ जनाको मृत्यु पुष्टि गरेका थिए, तर गम्भीर घाइतेहरूका कारण मृत्यु संख्या बढ्दै १७९ पुगेको छ । दुई जनालाई भने उद्धार गरिएको छ। अहिले दुर्घटनाको कारणको विस्तृत जाँच भइरहेको छ।
क्यानडामा अर्को विमान दुर्घटना
दक्षिण कोरियाको घटनापछि केही घण्टामै क्यानडाको हलिफ्याक्स विमानस्थलमा अर्को विमान दुर्घटनाग्रस्त भयो । एयर क्यानडाको उडान एसी २२५९ अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएर आगलागी भयो । विमानमा रहेका सबै सुरक्षित रहेको बताइएको छ।
प्याल एयरलाइन्सद्वारा सञ्चालन गरिएको यो उडान सेन्ट जोन्सबाट हलिफ्याक्स जाँदै थियो। अवतरणका बेला विमानको ल्याण्डिङ गियरमा समस्या आएर रनवेमा विमानको पखेटाले ठोक्किँदा आगलागी भएको थियो।
दुई फरक देशमा भएको यी घटनाले विश्वभरको ध्यान खिचेको छ । विशेषज्ञहरूले विमान दुर्घटनाको पछाडिका प्राविधिक समस्या र सुरक्षा उपायमा सुधारको आवश्यकता औँल्याएका छन् ।