दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ९६ जनाको मृत्यु (भिडियो)



एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ल्यान्ड गर्ने क्रममा एउटा विमान दुर्घटनामा परेको छ ।

विमानमा १८१ जना सवार थिए, जसमा १७५ यात्रु र चालक दलका ६ सदस्य समावेश थिए ।

दक्षिण कोरियाको अग्नि नियन्त्रण विभागका अनुसार यस दुर्घटनामा कम्तिमा ९६ जनाले ज्यान गुमाएका छन् ।

जेजु एयरको यो विमान बैंककबाट दक्षिण कोरिया फर्कंदै गर्दा दुर्घटनामा परेको बताइएको छ । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट चिप्लिएर ठोक्किएपछि यो घटना भएको हो ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग-मोक घटनास्थलमा पुगिसकेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनले उद्धार कार्यलाई तीव्र बनाउन जनशक्ति, स्वास्थ्य सेवाहरू र आवश्यक उपकरण परिचालन गर्न निर्देशन दिएका छन् ।

उद्धार प्रयास जारी

अग्नि नियन्त्रण विभागले दुई जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएको छ ।

अधिकारीहरूले विमानको पछिल्लो भागबाट उद्धार कार्य चलाएको जनाएका छन् ।

विमानमा सवार १७३ जना यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका रहेको बताइएको छ ।

दुर्घटनाको सम्भावित कारण

दुर्घटनाको ठोस कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यद्यपि, समाचार एजेन्सी योनहापले पक्षी ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने जनाएको छ ।

सामाजिक सञ्जालमा घटना भएका भिडियोहरू भाइरल भइरहेका छन् । ती भिडियोमा विमान रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएको र त्यसपछि आगलागी भएको देखिएको छ ।

जेजु एयरले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी मुआन विमानस्थलमा भएको यस दुर्घटनाका कारण प्रभावित सबैप्रति गहिरो शोक व्यक्त गर्दै माफी माग्छौं।’

विमान निर्माता कम्पनी बोइङले पनि घटनाप्रति दुःख व्यक्त गर्दै जेजु एयरसँग सम्पर्कमा रहेको जनाएको छ ।

दुर्घटनामा परेको विमान बोइङ ७३७-८०० मोडलको रहेको जनाइएको छ।

दक्षिण कोरियाको विमान उद्योगलाई सुरक्षित मानिए पनि यो घटना जेजु एयरको इतिहासमा पहिलो घातक दुर्घटना भएको बताइएको छ ।

मुआन, दक्षिण कोरियाको राजधानी सिओलबाट करिब २८८ किलोमिटर टाढा अवस्थित छ । अहिले पनि उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।


क्लिकमान्डु