गैँडाको खाग तस्कर पक्राउ गर्न सेनाले चलायो ५ राउन्ड हवाई फायर, एक जना पक्राउ



मनहरी (मकवानपुर) । चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ।

आज बिहान ११ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित गर्दई र हेटौँडा–८ को सिमानास्थित प्लटिङमा निकुञ्जबाट खटिएको सेनाको टोलीले गैँडाको खागसहित तस्करलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

खाग तस्कर भाग्न खोजेपछि पाँच राउण्ड हवाई फायर गरिएको उनले बताए ।

विशेष सुराकीका आधारमा चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतको नेतृत्वमा हेटौँडा आएको टोलीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले उल्लेख गरे ।

घटनाबारे पूर्ण जानकारी निकुञ्जमार्फत सार्वजनिक गरिने भन्दै उनले तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न दुई वटा सवारीसाधनमा हेटौँडा आएका आठ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको थियो ।


क्लिकमान्डु