एमालेले भीम रावललाई संगठित सदस्यबाटै हटायो, पाण्डे र तिम्सिना निलम्बित
काठमाडौं । नेकपा (एमाले)ले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको पार्टी सचिवालय बैठकले रावललाई पार्टीको अनुशासन विपरीत गतिविधि गरेको भन्दै संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।
रावललाई कात्तिक ६ गते पार्टीले स्पष्टीकरण सोधेको थियो । पार्टीले व्यवसायी मीनबहादुर गुरुङद्वारा पार्टीलाई दान गरिएको जग्गाको विषयमा टिप्पणी गरेको र विभिन्न समयमा पार्टीविरुद्धका अभिव्यक्ति दिएको आरोप लगाएको थियो।
‘अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने हिसाबले आएको देखिएकाले उहाँलाई संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
रावलले १०औँ महाधिवेशनमा अध्यक्ष पदको उमेदवारी दिएका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यको जिम्मेवारी अस्वीकार गरेका थिए। त्यसपछि पार्टीले उनलाई सल्लाहकार परिषद्मा जिम्मेवारी दिए पनि उनले बस्न अस्वीकार गरेका थिए ।
त्यस्तै, सचिवालय बैठकले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाको लागि जिम्मेवारीमुक्त गरेको छ ।
पार्टीले व्यवसायी मीनबहादुर गुरुङद्वारा पार्टीका लागि दान गरिएको जग्गाको विषयमा टिप्पणी गरेपछि दुबै नेतालाई स्पष्टीकरण सोधेको थियो। तर, पार्टीले दिएको स्पष्टीकरणको उत्तरमा गल्ती स्वीकार नगरेको भन्दै निलम्बन गरिएको हो ।
‘उहाँहरूको स्पष्टीकरणमा गल्ती महसुस गरिएको देखिएन,’ उपमहासचिव ज्ञवालीले भने ।
पार्टीको अनुशासन र नीतिविपरीत गतिविधिमा संलग्न भएको भन्दै पार्टीले यी निर्णयहरू गरेको हो ।