भक्तपुरमा बुवा र भाइको हत्यापछि स्कुटर लिएर भागेका जेठा छोरा पक्राउ, प्रहरीसँग के भने ?



काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित एक घरमा मृत भेटिएका बाबु र छोराको हत्या भएको पाइएको छ । यो घटना कुलप्रसाद आचार्यका जेठा छोराले योजना बनाएर गरेका खुल्न आएको प्रहरीले जनाएको छ ।

५६ वर्षीय कुलप्रसाद आचार्य हुलाक विभागका कर्मचारी तथा खोटाङ जिल्ला हुलाकका निमित्त प्रमुख थिए । उनी २२ वर्षीय छोरा प्रविणसँगै आइतबार आफ्नै कोठामा मृत भेटिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महाराजगञ्जबाट पक्राउ गरेका जेठा छोरा मिलनले हत्या स्वीकार गरेका छन् । प्रहरीका अनुसार मिलनले लामो समयदेखि परिवारभित्रको तनाव झेलिरहेको र यही तनावले गर्दा यो अपराधमा उत्रिएको बताएका छन् ।

अनुसन्धान अधिकारीहरूले दिएको जानकारी अनुसार, प्रविण कुलतमा फसेको र कुलप्रसाद डिप्रेशनको समस्याबाट गुज्रिरहेका थिए । यसले मिलनलाई मानसिक दबाब परिरहेको थियो । हत्या गरेपछि उनले आत्महत्याको प्रयास गरेको भए पनि त्यसमा असफल भएको बताइएको छ ।

कुलप्रसाद केही दिनअघि कामका सिलसिलामा काठमाडौं आएका थिए र छोराहरूको कोठामा बसिरहेका थिए । शनिबार राति उनीहरूले सँगै खाना खाएका थिए ।

आइतबार बिहान अन्य भाडामा बस्ने व्यक्तिहरूले उनीहरूको कोठा बाहिरबाट ताला लागेको देखे । सुरुमा उनीहरू कतै बाहिर गएको अनुमान गरियो । तर, दुई दिनसम्म कोठाबाट कुनै हलचल नभएपछि प्रहरीलाई खबर गरियो ।

प्रहरीले ढोका फोड्दा कुलप्रसाद र प्रविण अलग-अलग कोठामा मृत फेला परेका थिए ।

हत्या गरेपछि मिलन आइतबार राति ३ बजे स्कुटर लिएर घटनास्थलबाट फरार भएका थिए । उनको स्कुटर सातदोबाटोसम्म पुगेको सीसीटीभी फुटेज प्रहरीको हात लाग्यो । त्यसपछि उनको मोबाइल अफ भएपछि खोजी गर्न समय लागेको थियो ।

मंगलबार महाराजगञ्जमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेपछि मिलनलाई भक्तपुर पठाइएको छ । प्रहरीले उनलाई कर्तव्य ज्यानको अभियोगमा म्याद लिएर थप अनुसन्धान गर्ने बताएको छ ।

मिलनले पारिवारिक असहजता र भाइ तथा बाबुले आफूलाई दिएको दबाबकै कारण यो अपराध गरेको बयान दिएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।


क्लिकमान्डु