कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णीमले पाएनन्, रविको सिफारिस भन्दै ‘कान्छा’ अर्याल नेतृत्वमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति डोरप्रसाद (डीपी) अर्याल बनेका छन् । सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो ।
उमेरले ज्येष्ठ रहेका अर्का उपसभापति स्वर्णीम वाग्लेलाई नदिएर रास्वपा र रविकले अर्याललाई कार्यवाहकको जिम्मेवारी तोकेको हो ।
रास्वपाको विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारमा दुई उपसभापतिमध्ये उमेरमा जेष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमा सभापतिको कार्य गर्ने उल्लेख छ । यसैगरी उपसभापति वा उपप्रमुख पदमा एकभन्दा बढी सदस्य जिम्मेवारीमा रहे उमेरले ज्येष्ठ उपसभापति वा उपप्रमुखले कार्यवाहक सभापति वा प्रमुखको जिम्मेवारीमा कार्यसम्पादन गर्ने विधानमा उल्लेख छ ।
तर, उमेरले ज्येष्ठ रहेका वाग्लेलाई रवि र पार्टीले कार्यवाहक सभापति पद दिन अस्वीकार गरेको हो । स्वर्णीम नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए । वाग्ले २०३१ साल जेठ १६ गतेका हुन् भने अर्याल २०३१ भदौ ६ का ।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको छ । यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।
लामिछाने हिरासतमा रहँदा रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि तोकेको थिएन । अहिले भने सभापतिको सिफारिस भन्दै अर्याललाई पार्टीको कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो । लामिछानेको अनुपस्थितिमा पनि केन्द्रीय समिति बैठक उपसभापति अर्यालकै अध्यक्षतामा बस्ने गरेको थियो ।