क्यान टुक्राउने विधेयक संसदमा लैजान मन्त्रिपरिषदको स्वीकृति, सेवाप्रदायक र नियामक अलग हुने
काठमाडौं । नेपालको हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियामक र सेवा प्रदायकका रूपमा विभाजन गर्ने गरी वटा संस्था बनाउन तयार भएको विधेयकलाई पुस ५ को मन्त्रिपरिषद बैठकले स्वीकृति दिएकोे छ ।
प्राधिकरण टुक्राउन सरकारले उड्डयन प्राधिकरण सम्बन्धी दुई विधेयक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । यस अघि राष्ट्रिय सभाबाट स्वीकृत भइसकेको उक्त विधेयक प्रतिनिधिसमा पेश भएर पारित हुन नसकेकोले सरकारले आवश्यक संशोधन गरेर पुनः ससदमा पठाउने भएको छ ।
आइतबार सार्वजनिक मन्त्रिपरिषदको निर्णयमा नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक २०८१ संसदको दुवै सदनमा पठाउने उल्लेख छ । योसँगै अब नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्राप्त भएको छ ।
प्राधिकरणलाई नियमनकारी र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै संस्था बनाउने सम्बन्धमा लामो समयदेखि बहस जारी छ । अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत यस सम्बन्धमा चासो व्यक्त हुने गरेको छ । तर, प्राधिकरण नेतृत्व र अधिकतम कर्मचारी भने यसको विरोधमा रहँदा सरकारले घोषणा अनुसार काम गर्न सकेको छैन ।
सरकारले निर्णय गरेपछि अब दुबै विधेयक संसदमा दर्ता हुने छ । संसदबाट पारित भएको ९० दिनमा हवाई क्षेत्रको नियामक निकायलाई दुई विधेयकले गरेको व्यवस्था अनुसार दुई वटा नियाक बनाउनुपर्ने छ । यो ऐन कार्यान्वयनमा आएपनि हवाई क्षेत्रको नियामक र सेवाप्रदायक दुई वटा निकाय हुने छ भने महानिर्देशकपनि दुइजना नै हुने छन् ।