रवि लामिछानेको संसद पद निलम्बनमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने निश्चित भएको छ ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो । लामिछाने दम्पत्तिविरुद्व २७ करोड ८९ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । यो सँगै लामिछानेको सांसद पद स्वत निलम्बनमा परेको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) मा स्वत निलम्बनबारे उल्लेख छ ।
‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।
लामिछाने चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् ।