भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप, ३ सांसद घाइते
एजेन्सी । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच झडप भएको छ । त्यसक्रममा तीन सांसद घााइते भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद सारङ्गी र राजपुतलाई फोन गरी उीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफुलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाएका छन् ।
काङ्ग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ ।
भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणी गरेको बिषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो ।
भारतीय जनता पार्टी का सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दावी गरेका छन् । सारङ्गीले आफू सिँढीमा उभिरहेको बेला विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताए ।
सिंहले पत्रकारसँग भने, ‘गान्धीले संसद्मा प्रवेश गर्ने क्रममा एक जना सांसदलाई धक्का दिनुभयो उहाँ ममाथि परेपछि म ढलेँ ।’
घटनापश्चात भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय शुक्लाले बताए ।
लक्षणसहितको उपचार सुरु भएको छ । दुवैजनाको टाउकोमा चोट लागेकाले आईसीयूमा भर्ना गरिएको छ ।
काङ्ग्रेस नेता राहुल गान्धीले घटनामा आफ्नो बचाउ गर्दै भने, ‘म संसदभित्र पस्ने कोसिस गरिरहेको थिएँ, मलाई भाजपा सांसदहरूले धकेले र अवरोध गर्दै धम्की दिए ।’
‘उनीहरूले काङ्ग्रेस प्रमुख मल्लिकार्जुन खड़्गेलाई पनि धकेले । यो तपाईंको क्यामेरामा हुन सक्छ,’ गान्धीले भने, ‘हामीलाई झट्काले असर गर्दैन । यो प्रवेशद्वार हो र हामीलाई भित्र जाने अधिकार छ ।’
कांग्रेस सांसद केसी वेणुगोपालले भारतीय जनता पार्टीका सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाए ।
भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणीको जवाफदेहिताबाट उनीहरूलाई कुनै पनि नाटक वा छलकपटले बचाउन नसक्ने उनले बताए ।
भाजपाले गान्धी र अन्य सांसदहरूविरुद्ध भाजपा सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गर्ने बताएको छ ।