रविको फोटो सार्वजनिक भएपछि रेशमको फोटो राख्दै रञ्जिताले भनिन्: अहिले त धेरै सुख सुविधा हुने रहेछ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले निर्वाचित सांसद रेशम चौधरी जेलमा भएका बेला साङ्लाले खुट्टा बाधेको फोटो सामाजिक सञ्जालमा राखेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतेको तस्बिर भाइरल भएपछि श्रेष्ठले रेशम चौधरीको फोटो सामाजिक सञ्जालमा आफूहरूमाथि विभेद भएको गुनासो गरेकी हुन् ।

रञ्जिताले सार्वजनिक गरेको तस्बिरमा तत्कालीन सांसदसमेत रहेका उनका श्रीमान् रेशम हस्पिटलको बेडमा साङ्लाले खुट्टा बाधेको अवस्थामा देखिएका छन् ।

‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जननिर्वाचित सासंद नै हुनुहुन्थ्यो,’ उनले लेखेकी छन्, ‘अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा ।’

लामिछानेको हिरासतको फोटो भाइरल भइरहँदा आफूहरुमाथि विभेद भएको महसुस भएको उनको भनाइ छ ।

‘पूर्वगृहमन्त्री माननीय रवीज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथि चाहीँ विभेद भएकै हो जस्तो महसुस भयो,’उनले भनेकी छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएको छ । जहाँ उनी अट्याच बाथरुमसहितको कोठाको खाटमा सिरक ओढेर सुतिरहेको देख्न सकिन्छ । त्यहाँ स्टडे टेबल र मेच रहेको छ । उनको टेबलमा केही पुस्तक, चियापत्ति लगायका चिजहरु देख्न सकिन्छ ।

रवि लामिछानेलाई हिरासतमा राखिएको कोठाको सुविधा सामान्य होटलको भन्दा कम छैनन् । तर तत्कालीन निर्वाचित सांसद चौधरीलाई भने अस्पताल कक्षमा समेत जञ्जिर लगाएर राखिएको तस्बिर रञ्जिताले पोस्ट गरेकी छन् ।

रास्वपा कार्यकर्ता भने पूर्वगृहमन्त्री भइसकेका व्यक्तिलाई हिरासतकक्षमा बसोबासको उचित प्रबन्ध नभएको भन्दै आलोचना गरिरहेका छन् ।

रवि जस्तै सहकारी ठगीमा अनुसन्धान भइरहेका आरोपीहरुले के रविले जत्तिकै सेवा सुविधा पाइरहेका होलान् भन्दै सामाजिक सञ्जालमा प्रश्न भइरहेको छ ।

पोखरा प्रहरीका एक अधिकारीका अनुसार लामिछाने जत्तिको सुविधा हिरासत कक्षमा रहने कुनै पनि व्यक्तिले नपाउने बताउँछन् ।


क्लिकमान्डु