रविको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सार्वजनिक प्रकरणमा छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । सामाजिक सञ्जालमा हिरासत कक्षको फोटो सार्वजनिक भएपछि गृहमन्त्रालयले घटनाको यथार्थ पत्ता लगाउन प्रहरीलाई अनुसन्धान थाल्न आदेश दिएको थियो ।

प्रहरीकाअनुसार तस्बिर सार्वजनिक भएको विषयमा अनुसन्धान अघि बढाइएको छ । गृहमन्त्रीले हिरासतमा खिचिएको दाबी गरिएको फोटोबारे चासो राख्दै सुरक्षा कमजोरीका लागि जिम्मेवार व्यक्तिमाथि कडा कदम चाल्न निर्देशन दिएको जनाइएको छ।

हिरासतभित्रको तस्बिर बाहिर ल्याउने कार्यले सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ ।


क्लिकमान्डु