नयाँ स्टकको लाईसेन्समा अर्बौको चलखेल हुनसक्ने भन्दै अख्तियारमा उजुरी



काठमाडौं । नयाँ स्टकलाई लाईसेन्स दिने र धितोपत्र बोर्डका अध्यक्ष नियुक्त सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आज पुस १ गते भ्रष्टाचार विरुद्ध युवा जागरण अभियानका तर्फबाट राजन शर्मा पराजुलीले उजुरी दिएका छन् । आयोगमा परेको उजुरी नम्बर सी–०३५३८४ रहेको छ ।

आयोगमा २०८१ जेठ ३२ गते सी ०७९२६८ नम्बरमा बोर्ड अध्यक्ष नियुक्ती प्रकृया र नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिने सम्बन्धी योजनामा ५ अर्ब रुपैयाँ कमिशनको खेल रहेको जानकारीसहित उजुरी परेको स्मरण गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ असोज १५ गते आयोजना गरेको पत्रकार सम्मेलनमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा ५ अर्ब रुपैयाँ कमिशनको चलखेल बारे करिब ५ मिनेसम्म स्पष्टिकरण समेत दिएका थिए । त्यो विषयमा आयोगले थप छानविन गर्नु भन्दै माग उजुरीमा गरिएको छ ।

यस्तै बोर्ड अध्यक्षमा नियुक्त भएका सन्तोष नारायण श्रेष्ठ स्वंय नयाँ स्कटक एक्सचेञ्जको लाईसेन्सका लागि फाइल दर्ता गराएका व्यवसायी दिपक भट्टका कर्मचारी तथा व्यवसायीक साझेदार भएको उल्लेख छ ।

नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब पुँजी रहने कम्पनीका लागि प्रतिकित्ता ३ सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म उठाएको उल्लेख छ । ३ अर्ब रुपैयाँको नयाँ स्टक एक्सचेञ्ज–७० प्रतिशतले हुन आउने २ अर्ब १० करोड रुपैयाँ संस्थापकहरुले उठाउने र बाँकी ३० प्रतिशत हिस्सा पब्लिक)लाई दिने भनिएको छ ।

यसअघिसम्म स्टक एक्चसेञ्जले लाइसेन्स पाउँदा सूचिकृत संस्थाहरु(पब्लिक लिमिटेड) ले मात्रै लगानी गर्न पाउने कानुनी व्यवस्था रहेकोमा निजी कम्पनीहरुले समेत स्टकमा लगानी गर्न पाउने र त्यस्तो लगानीको सिमा एकाघर परिवारकै १५ प्रतिशतसम्म हुन पाउने गरि नेपाल धितोपत्र बोर्ड सम्वद्ध कानुनी प्रक्रिया, नियम तथा आवश्यक कानुनहरु समेत परिवर्तन गराइसकेको उजुरीमा उल्लेख छ ।

यस्तै आयोगमा परेको उजुरीमा धितोपत्र बोर्डमा अध्यक्ष बनेका सन्तोष नारायण श्रेष्ठको योग्यता नै नपुग्ने भन्दै सूचनाको हक प्रयोग गर्दै अर्थमन्त्रालयमा निवेदन दर्ता भएको उल्लेख छ ।

बोर्ड अध्यक्ष नियुक्ती प्रक्रियाबारे श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको मुद्धा पनि विचाराधिन अवस्थामा रहेको जनाइएको छ ।
नयाँ स्टकमा पाँच अर्ब कमिसन प्रकरणमा जोडिएको भनिएका परराष्ट्र मन्त्री डा. आरजु राणा, अर्थमन्त्री विष्णु प्रसाद पौडेलहरुको समेत छानविन गर्न माग गरेको छ । यस्तै धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल, अम्बिका गिरि लगायतको पनि सम्पतिमाथि छानविन गरिनुपर्ने माग गरेको छ ।


क्लिकमान्डु