कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित ५ युवाद्वारा लोबुचे हिमाल आरोहण
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् ।
यही मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहेका शर्मा र साथीहरूले यही मङ्सिर २७ गते राति ११:३० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर आज मङ्सिर २८ गते बिहान ६:४५ बजे लोबुचे हिमालको सफल आरोहण गरेको उनको सचिवालयले जनाएको छ ।
आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पुर्याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेको छ ।
पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ ।
खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलीले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमालको अवस्थालाई (खुम्बु)पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासीसँग व्यापक संवाद गरिएको थियो ।
संसद्को आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हाम्रो हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण राखेको बताए ।
महामन्त्री शर्मा सङ्घीय संसद्का दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बन्नुभएको छ । साथै उनी मुख्य राजनीतिक दलका मुख्य पदाधिकारीमध्ये यो हिमाल आरोहण गर्ने प्रथम पदाधिकारी समेत बनेका छन् ।
आरोहण दलमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी थिए ।