विदेशी विनिमय सञ्चिति बढ्यो, १५ महिनाको आयात धान्न पुग्ने
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी विनिमय सञ्चिति १६ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनाको अवधिमा यस्तो सञ्चिति ९.४ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको सञ्चिति कात्तिक मसान्त सम्ममा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड डलर पुगेको छ ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म आइपुग्दा १०.५ प्रतिशतले बढेर बढेर २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा कात्तिक मसान्तमा २० खर्ब ८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग कात्तिक मसान्तमा २ खर्ब ४७ अर्ब २० करोड रुपैयाँ रहेको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
यो चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ । कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन् ।