कांग्रेस सांसदको आरोप: सरकारले रविलाई नियतवस कमजोर बनाउन जिल्ला जिल्ला घुमायो (भिडियो)



नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे । उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए ।

सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भए पनि अहिलेसम्म अमानवीय व्यवहार गरिएको बताए ।

अनुसन्धान भन्दै विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति उनले आपत्ति जनाए । गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय भए पनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको उनले बताए ।

लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्थामा अमानवीय व्यवहार स्वीकार्य नहुने बताए । उनले नेपाली कांग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय स्पष्ट रुपमा हुनुपर्ने बताए ।

उनले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्‍याउने काम गरिरहेको आरोप लगाए ।


क्लिकमान्डु