रोहितको अलराउन्डर प्रदर्शनीमा लुम्बिनीको पहिलो जित, चलेन चितवनको ब्याटिङ
काठमाडौं । कप्तान रोहित कुमार पौडेलको अलराउन्डर प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत यसअघिका लगातार चार खेलमा पराजित लुम्बिनी आजको खेलमा भने चितवन राइनोजलाई ३३ रनले हराउने सफल भएको हो ।
मंगलबार भएको खेलमा लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३४ रन बनायो ।
चितवनका लागि लुस मार्टिन बेन्किस्टाइनले सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै कप्तान कुशल मल्ल २० रनमा आउट भए ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ४ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।
लुम्बिनीका लागि रोहितले अर्धशतक बनाए । उनले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ८० रन बनाए ।
त्यस्तै साद बिन जाफरले पनि ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
चितवनका लागि रिजन ढकाकाले ३ विकेट लिए । त्यस्तै कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै लुम्बिनीले २ अंक जोडेको छ । अब लुम्बिनीलाई अघिल्लो चरण प्रवेशका लागि बाँकी २ खेल जित्दै अन्य टिमको नतिजा पर्खनु पर्नेछ । पराजित चितवनले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । चितवनले ५ खेलबाट ६ अंक जोड्दै तालीकाको तेस्रो स्थानमा छ ।