डेढ अर्बको लगानीमा निर्माण भएको १८ तले भ्यु टावरको प्रधानमन्त्री ओलीद्वारा आइतबार उद्घाटन हुँदै
झापा । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ ।
दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । उक्त भवन भ्यु टावरको नामबाट प्रसिद्ध छ ।
सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ ।