त्रिभुवन विमानस्थलमा रातैभरि काम: यसरी हुँदैछ ट्याक्सी वे र ह्यांगरको क्षमता वृद्धि (भिडियो)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक १० घण्टा बन्द गरेर मर्मतको काम भइरहेको छ । २३ कात्तिक (८ नोभेम्बर) देखि सुरु भएको विमानस्थलको ट्याक्सी वे र ह्याङ्गर विस्तारको यो काम आगामी चैत्र १८ सम्म, अर्थात् पाँच महिनासम्म निरन्तर चल्नेछ । राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने मर्मतका कारण यो अवधिमा विमानस्थलको उडान र अवतरण ठप्प रहनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको क्षमता विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पुर्याउनका लागि यो काम गरिरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’का निर्देशक दीपेन्द्र श्रेष्ठका अनुसार, विमानस्थलभित्र अहिले तीन स्थानमा र पार्किङ क्षेत्रको स्तरोन्नति गरेर काम भइरहेको छ ।
श्रेष्ठले विमानस्थल निरीक्षणका क्रममा भने, ‘दक्षिणतर्फ समानान्तर ट्याक्सी वे, पूर्वतर्फ ह्याङ्गर निर्माण, र उत्तर–दक्षिणतर्फ एप्रोनको काम भइरहेका छन् । यी काम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेको मापदण्ड अनुसार रनवेबाट ७५ मिटरको दूरीभित्र पर्छ । आईकाओको एनेक्स १४ मापदण्डअनुसार यस क्षेत्रमा काम गर्दा जहाजको उडान र अवतरण गर्न नमिल्ने भएकाले राति विमानस्थल बन्द गरिएको हो ।’
उनका अनुसार, दैनिक १०० भन्दा बढी मजदुरले तीव्र गतिमा काम गरिरहेका छन् । पाँच महिनाभित्रै यो काम सक्नुपर्ने बाध्यकारी समयसीमा रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग र ट्याक्सी वेको दूरी, धावनमार्गबाट पेरिमिटर सडकको दूरी, तथा ह्याङ्गर र एप्रोनसम्बन्धी मापदण्ड पूरा गर्न अझै धेरै काम बाँकी छ । अहिले भइरहेको काम विमानस्थलको स्तरोन्नतिको ठूलो हिस्सा हो ।
विमानस्थलको गुरुयोजनाअनुसार पाँच वर्षअघि सुरु भएको यो कामको निरन्तरताका रूपमा अहिले ट्याक्सी वे मर्मत, पार्किङ क्षेत्र निर्माण, र एप्रोनको काम भइरहेको हो । यी काम सम्पन्न भएपछि १५ अर्ब रूपैयाँ लागतको आयोजनाको ६० प्रतिशत काम सम्पन्न हुनेछ । त्यसपछि पनि नयाँ टर्मिनल भवन बनाउनेदेखि एयरसाइट र एयरसाइटभन्दा बाहिरको क्षेत्रमा गर्नुपर्ने काम ४० प्रतिशत बाँकी नै रहने पनि श्रेष्ठले बताए ।
हाल विमानस्थलको धावन मार्ग ३३५० मिटर लामो र ४५ मिटर चौडाइको छ । दुवै तर्फ ७.५ मिटर सोल्डरसहित यो मार्गको कुल चौडाइ ६० मिटर छ । ट्याक्सी वेको चौडाइ २३ मिटर छ । यसबाहेक, रनवे र पेरिमिटर सडकको दूरीसहित अन्य आवश्यक संरचनाहरू निर्माण भइरहेका छन् ।
त्रिभुवन विमानस्थलमा तीनवटा चिनियाँ निर्माण कम्पनीहरूले काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छानिएका यी कम्पनीहरूले ट्याक्सी वे र एप्रोन निर्माण गरिरहेका छन् । निर्देशक श्रेष्ठका अनुसार, एभिक इन्टरनेसनलले नयाँ एप्रोन निर्माणको काम गरिरहेको छ ।
समानान्तर ट्याक्सी वे, इन–एग्जिट ट्याक्सी वेको काम ग्रान्सु इन्जिनियरिङले गरिरहेको छ । यो कामका लागि ४ अर्ब रूपैयाँको लागत तोकिएको छ र २०२६ अक्टोबरभित्रै सम्पन्न गरिसक्नुपर्ने छ ।
यो परियोजना सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता २० प्रतिशतले बढ्ने दाबी आयोजनाको छ । तोकिएको समयमा सबै काम पूरा गरी विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने लक्ष्य राखिएको छ ।
फोटो/भिडियो: रवि धिताल