जम्बो टोली लिएर चीन प्रस्थान गरे प्रधानमन्त्री ओली (तस्बिरहरु)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गरेका छन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली जम्बो टोलीसहित चीन भ्रमणमा निस्किएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो । टोली स्थानीय समयअनुसार साँझ ६:१० बजे टोली चीनको राजधानी बेइजिङ पुग्नेछ ।

भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता छ । बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा आठ सदस्य थपिने छन् । सरकार टोलीका ४६ मध्ये दुई सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्ने छन् ।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहने छिन् ।

त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते काठमाडौँ फर्कने तालिका छ ।


क्लिकमान्डु