साढे २ अर्ब रुपैयाँ खर्चिएर होटल बाराही पाँचतारेमा स्तरोन्नति हुँदै



काठमाडौं । होटल बाराही काठमाडौंको स्तरोन्नती गरेर पाँचतारे स्तरको हुने भएको छ । काठमाडौंको केशरमहलमा हाल ६७ कोठामा सञ्चालन भइरहेको यो होटल पाँचतारे स्तरमा वर्गीकरण गर्ने उद्देश्यले क्षमता विस्तार गर्न लागिएको हो ।

होटलको स्तरोन्नतीका लागि कुल साढे २ अर्ब रुपैयाँ खर्च हुने होटलले जानकारी दिएको छ । बाराही होटलले निजी बैंक तथा वित्तीय संस्थाबाट १४ वर्षसम्मको ऋण लिएर होटलमा लगानी गर्ने भएको छ ।

होटल स्तरोन्नती गरी सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेन तयार पारिएको छ । होटलले सार्वजनिक गरेको उक्त प्रतिवदेन अनुसार यो होटल हालसम्म दर्ता नभएकोले वातावारणीय प्रभाव मूल्यांकन गरेर दर्ता गर्ने तयारीमा समेत छ । वातावरण संरक्षण ऐन २०७६ तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार १०० शय्याभन्दा बढी क्षमताको होटलको निर्माण तथा सञ्चालनको लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेन तयार पारेको हो ।

यो होटलले एउटा भवनसहित ३४ वटा कोठा थप गर्ने भएको छ । यो होटलको नयाँ भवन थप गरेसँगै पहिलो र दोस्रो तला हलको रुपमा सञ्चालन गर्ने छ । पहिलो तलामा रिक्रिसनल सेन्टरसहितको हल, दोस्रो तलामा २२ कोठा, छैटौं तलामा ६ वटा कोठा, आठौं तलामा ६ वटा कोठासहित कुल १०१ कोठा र १६६ शय्याको होटल हुने भएको छ ।

ठमेल क्षेत्रमा रहेको यो होटलको क्षमता वृद्धिले पर्यटकीय सेवा र सुविधामा सहजता हुने होटलले जानकारी दिएको छ । होटलमा क्षमता विस्तारपछि होटल पर्यटकीय सेवाको दायरा पनि बढाउने भएको छ ।

यो होटलले पछिल्लो १४ हजार ३६९ पर्यटकलाई सेवा दिएको छ । यसले २०७८ मा २३ सय ४३ जनालाई, २०७९ मा ५ हजार ९१ जनालाई र २०८० मा ६ हजार ९३५ पर्यटकलाई सेवा दिएको छ । यो होटलमा सेवा लिने पर्यटकमा नेपाली २१ प्रतिशत, भारतीय ४७ प्रतिशत र अन्य ३२ प्रतिशत हुने गरेको होटलले २०८० मा आएको पर्यटकको विवरणबाट देखिएको उल्लेख गरेको छ ।

यो होटल पोखराको बाराही होटल सञ्चालन गर्ने विप्लप पौडेलको होटल हो । होटल बाराही काठमाडौंमा विप्लवको ४ लाख २५ हजार कित्ता सेयर लगानी छ । यो उनको दिदी वसन्तीदेवीको पौडेल र भाई वैभव पौडेल र बुबा हरिप्रसाद पौडेलेको पनि समान कित्ता सेयर लगानी छ । यो होटलको अध्यक्ष हरिप्रसाद पौडेल छन् ।

केशर महलमा भाडामा सञ्चालित यो होटलले वार्षिक ५ प्रतिशतका दरले वृद्धि गर्ने गरी मासिक २१ लाख रुपैयाँ भाडा तिर्दै आएको छ ।


क्लिकमान्डु