प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव: बीआरआई अघि बढाउन नडराउनुस्
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने बताएका छन्।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा पूर्वप्रधानमन्त्री नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताए।
सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाइ थियो । नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वभाविक रुपमा अघि बढाउनुपर्ने बताए ।
‘बीआरआई स्वभाविक रुपमा नेपालको स्वीकार गर्दै आएको हो । स्वीकार नगर्ने त प्रश्नै छैन नि । किन ? बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन,’ उनले भने, ‘नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्दछ । लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौं । लाभ लिने गरेका छौं । झन बीआरआईसँगमा हामी आवद्ध उहिले नै भइसकेका छौं विभिन्न सरकारहरु । त्यसो हुनाले त्यसलाई पनि अघि बढाउनुपर्ने आवश्यक्ता छ । बीआरआईसँग हामी डराएका छैनौं ।’
अध्यक्ष नेपालले कुनै पनि छिमेकमा आशंका उत्पन्न नहुनेगरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।