एलन मस्कलाई ब्राजिलकी फर्स्ट लेडीको गाली- ‘फ… यू’
एजेन्सी । ब्राजिलकी फर्स्ट लेडी अर्थात् राष्ट्रपतिकी पत्नीले एक्स र टेस्लाका मालिक तथा अमेरिकी व्यवसायी एलन मस्कमाथि व्यंग्य गर्दै कडा अभिव्यक्ति दिएकी छन् ।
रियो दि जेनेरियोस्थित जी २० राष्ट्रहरुको सम्मेलन सुरु हुनुअघि ब्राजिलियन फर्स्ट लेडी जन्जा लुला दा सिल्भाले सोसल मिडियामा दुष्प्रचारबारे प्यानलमा बोल्दै गर्दा हल्ला भइरहेको थियो ।
त्यस क्रममा उनले ठट्टा गर्दै त्यहाँ एलन मस्क भएको हुनसक्ने प्रतिक्रिया दिइन् । ‘मलाई लाग्छ कि यो एलन मस्क हो ।’ तर उनले आफू एलन मस्कसँग नडराउने भन्दै उनीविरुद्ध गाली पनि गरेकी थिइन् । जुन विषयले यतिबेला निकै चर्चा पाइरहेको छ । साथै एलन मस्क स्यवं पनि उनको टिप्पणीमा प्रतिक्रिया दिन बाध्य भए ।
जन्जाले भनेकी छन्, ‘म तिमीसँग डराउँदिन । फक यू एलन मस्क ।’ अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पबाट हालै गभर्मेन्ट अफ इफिसेन्सीको प्रमुखमा नियुक्त भएका अर्बपति एलन मस्क र ब्राजिल सरकारबीच केही समययता तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ ।
ब्राजिल सरकारले त्यहाँ सोसल मिडिया प्लेटफर्म एक्समाथि निगरानी गर्ने क्रममा मस्क र ब्राजिल सरकारबीच सम्बन्ध बिग्रिएपछि ब्राजिल सरकारले केही समयका लागि एक्समाथि प्रतिबन्ध नै लगाएको थियो ।
उक्त विवादकै शिलशिलाको रुपमा वामपन्थी नेता ब्राजिलका राष्ट्रपति लुला सिल्भाकी पत्नी जन्जाले हालै एलन मस्कबारे टिप्पणी गरेकी हुन् । एलन मस्कले भने उनले आफूविरुद्ध टिप्पणी गरेको भिडियो एक्समा पोस्ट गर्दै ‘स्माइल इमोजी’ दिएर ‘एलओएल’ लेखेका छन् ।
अर्को पोस्टमा मस्कले लुला दा सिल्भाको सत्तारुढ वर्कर्स पार्टीलाई लक्षित गर्दै लेखेका छन्, ‘उनीहरुले अर्को चुनाव हार्नेछन् ।’
यस वर्षको सुरुमा ब्राजिलको सर्वोच्च अदालतले एक्सलाई देशव्यापी रुपमा प्रतिबन्ध लगाउने फैसला गरेको थियो । एक्सले आफ्ना कानुनी प्रतिनिधिको नाम सरकारलाई दिन नमानेपछि र गलत सूचनाहरु फैलाएको भन्दै केही अधिकारीहरुको एक्स एकाउन्ट निलम्बन गरेपछि एक्समाथि ब्राजिलको सर्वोच्च अदालतले कदम चालेको थियो ।
त्यसबेलादेखि नै ब्राजिल सरकार र एक्सका मालिक एलन मस्कबीच सम्बन्ध बिग्रिएको हो । ब्राजिलमा जी २० राष्ट्रहरुको सम्मेलन सोमबारदेखि सुरु भएको हो ।