ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’माथि प्रतिबन्ध



एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका एक न्यायाधिशले ब्राजिलमा एक कानुनी प्रतिनिधिलाई पहिचान गर्नका लागि ट्विटरलाई दिएको समयसीमा सकिएपछि यस्तो फैसला आएको हो ।

सोही विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधिश अलेक्जेन्डर डे मोरेस र ट्विटरका मालिक एलन मस्कबीच केही समययता विवाद हुँदै आएको थियो । उक्त विवादका बीच एलन मस्कले सुरक्षा खतरा रहेको भन्दै ब्राजिलस्थित ट्विटरको कार्यालय नै बन्द गरेका थिए । मस्कले गत साता मात्रै न्यायाधिश एलेक्जेन्डरले आफ्नो कम्पनीमाथि धम्की दिएको भन्दै आएका थिए ।

न्यायाधिश डे मोरेसले नै पछिल्लो पटक एक्सलाई पूर्ण र तत्काल निलम्बन गर्न आदेश दिएका हुन् । जवकि एक्सले अदालतको आदेश पालना नगरेको न्यायाधिश मोरेसको भनाइ छ । यस्तै अदालतका सबै आदेश पालना नगरेसम्म नखोल्न पनि आदेशमा भनिएको छ । जवकि अदालतको आदेशमा ३ अर्ब २८ करोड डलरको जरिवाना पनि तोकिएको छ ।

न्यायाधिश मोरेसले एक्सलाई निलम्बन आदेश कार्यान्वयन गर्न २४ घण्टाको अल्टिमेटम समेत दिएका छन् । यसै वर्षको सुरुमा न्यायाधिश डे मोरेसले एक्समार्फत विकृत समाचार र घृणा फैलाएको आरोपमा केही व्यक्तिका एक्स एकाउन्ट बन्द गराउन आदेश दिएका थिए ।

यस्ता एकाउन्ट बन्द गराउने सूचीमा पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरु समेत थिए । तर एक्सले अदालतको आदेश पालना गरेको थिएन ।

मस्क भने ती व्यक्तिका एकाउन्ट बन्द गर्न तयार थिएनन् । एक्ससँग विवादसँगै ब्राजिलको सर्वोच्च अदालतले स्टारलिंक स्याटेलाइट इन्टरनेट फर्मका स्थानीय बैंक खाताहरु पनि ब्लक गरिदिएको थियो ।


क्लिकमान्डु