मन्त्री फेरबदलका चर्चाबीच बालुवाटारमा कांग्रेस एमाले शीर्ष नेताहरुको बैठक



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस एमालेका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद् फेरबदल हुने चर्चाका बीच दुई दलका शीर्ष नेताहरुको बैठकलाई चासोका साथ हेरिएको छ ।

छलफलमा एमालेका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी छन् । यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित परराष्ट्रमन्त्री आरजु राणा तथा महामन्त्री गगन थापा सहभागी छन् ।

सोमबारको छलफलमा मन्त्रिपरिषद्का सदस्य फेरबदलका विषयमा पनि छलफल हुने जनाइएको छ । कार्यसम्पादन कमजोर भएका मन्त्रीहरु फेरबदल गर्न दुवै दल तयार रहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको चीन भ्रमण र बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे कुराकानी हुने जनाइएको छ ।

यसअघि सोमबार पनि प्रधानमन्त्री ओली र देउवाबीच छलफल भएको थियो । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन्।


क्लिकमान्डु