त्रिभुवन विमानस्थल राति बन्द हुँदा १२३ उडान कटौती, दैनिक तीन उडान गर्नेलाई एउटा मात्रै



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग २३ कात्तिकबाट रातिको समयमा बन्द हुन थालेपछि सातामै १२३ उडान कटौती भएको छ ।

नेपालमा उडान गर्ने विदेशी वायुसेवाको उडान दैनिक ३ वटा गर्नेको २ वटा कटौती भएको छ । दुइवटा गर्नेले एउटा मात्रै उडान गर्न थालेको छ ।

रातिको समयमा ट्याक्सी वे विस्तारका कारण धावनमार्ग बन्द भएका कारण वायुसेवाको ३० प्रतिशत उडान कटौती भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार नेपालमा हुने उडानमध्ये काठमाडौंबाट कटौती भएको उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न प्रोत्साहन गरिएको छ ।

हाल एयर एसिया, कतार, जजीरा, नेपाल एयरलाइन्ससहितले भैरहवाबाट उडान गर्नसमेत थालेका छन् । अरु वायुसेवाले पनि आफ्नो अनुकुलता अनुसारको तालिका बनाइरहेका छन् ।

आगामी ५ महिनासम्म त्रिभुवन विमानस्थल दैनिक ८ घण्टा बन्द हुँदा हुने ३० प्रतिशतको उडान कटौतीले उड्डयन प्राधिकरणलाई करिब २ अर्ब रुपैयाँ घाटा हुने भएको छ । यो घाटा सहेरै भएपनि प्राधिकरणले भोलिका दिनमा राम्रो गर्न उडान कटौती गराउनुपरेको पनि भुलले बताए ।

त्रिभुवन विमानस्थलको धावनमार्ग ८ घण्टा बन्द गर्नुपर्दा सबैभन्दा बढी उडान कटौती एयर अरेविया, एयर इण्डिाया, फ्लाइ दुवाई, इण्डिगो, कतार एयरसहितको छ ।

यी वायुसेवाको दैनिक ३ देखि ४ वटासम्म उडान थिए । उडान धेरै भएका वायुसेवाको कतारको साताको २८ वटाबाट घटेर १४ वटा भएको छ । यो वायुसेवाको भने ५० प्रतिशतले नै काठमाडौंमा उडान कटौती भएको छ । अरु वायुेवाको पनि सातामा २१ वटा हुनेको १४ वटा, १४ वटा हुनेको ७ वटामा झरेको छ ।

काठमाडौंमा हुने उडान घटेपछि सम्बन्धित विदेशी वायुवालाई यात्रुको चाप बढेको भन्दा भाडासमेत बढाएका छन । यात्रुको माग बढी भएको र माग अधिक हुँदा धान्न नसक्ने अवस्थामा भाडा पनि बढाउँदै गएको तर्क ती वायुसेवाको छ । उडान संख्या घटेका कारण २३ कात्तिकपछि नेपालबाट हरेक गन्तव्यमा जाने वायुसेवाले भाडा बढाएका छन् ।


क्लिकमान्डु