निर्मला हत्याकाण्ड: बलात्कार र हत्या देखेको दाबी गर्ने अर्याल र ऋषि धमलासँग सीआईबीको सोधपुछ



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण फेरि चर्चामा आएको छ ।

आफूले निर्मला पन्तको बलात्कारपछि हत्या देखेको दाबी गरेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लियो ।

सोमबार प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका प्रस्तोता ऋषि धमलाले उनीसँग अन्तर्वार्ता गरेका थिए । त्यसक्रममा अर्यालले आफूले उक्त घटना देखेको बताएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)उनलाई मंगलबार सोधपुछ गर्दै छाडेको थियो ।

निर्मला पन्तलाई बलात्कार गरिएको आफूले प्रत्यक्ष देखेको अर्यालले अन्तर्वार्ताका क्रममा दाबी गरेका छन् । तीन जनाले पन्तमाथि सामूहिक बलात्कार गरेको र आफूले उनीहरुलाई चिन्ने उनको दाबी छ ।

उनको अन्तर्वार्तापछि सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पतीलाई बोलाएको छ । त्यस्तै सीआईबीले अन्तर्वार्ता लिएका प्रस्तोता ऋषि धमलासँग पनि सोधपुछ गरिरहेको छ ।

सीआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले अर्यालले टेलिभिजन अन्तर्वार्तामा भनेका विषयमा अध्ययन गरिएको र उनले दाबी गरेका सबै विवरण गतल भएको बताए ।

‘यस विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र ऋषि धमलालाई सीआईबीमा ल्याएका छौं,’ उनले भने ।

नवराजले आफू खानेपानी विभागको सवारी चालक रहेको र कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको प्रत्यक्ष देखेको बताएका थिए ।

निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । उनको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।


क्लिकमान्डु