सेयर मूल्य प्रतिकित्ता १७ हजार रुपैयाँ रहेको बोटलर्स नेपालले तीन महिनामा कमायो ८ करोड ४३ लाख रूपैयाँ
काठमाडौं । प्रतिकित्ता सेयर मूल्य १७ हजार रुपैयाँ रहेको बोटलर्स नेपालले तीन महिनामा ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोकाकोलासहितको पेय पदार्थ उत्पादन गर्ने कम्पनीले गत वर्ष सोही अवधिको तुलनामा २ करोड रुपैयाँ कम नाफा गरेको हो ।
गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १० करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो ।
धितोपत्रको दोस्रो बजारमा बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १७ हजार २ सय रुपैयाँ छ । कम्पनीको प्रतिसेयर बजार मूल्य चालू आवको पहिलो तीन महिनासम्ममा १७ हजार ४४२ रुपैयाँ पुगेको थियो । यस्तो सेयर मूल्य गत वर्षको पहिलो त्रैमास अन्त्यमा २३ सय १२ रुपैयाँ मात्रै थियो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बोटलर्स नेपालले ३ अर्ब रुपैयाँको सञ्चालन आय गरेको छ । यस्तो आय गत वर्षको सोही अवधिको तुलनामा २६ करोड रुपैयाँले घटेको हो । गत वर्ष सोही अवधिमा बोटलर्स नेपालको सञ्चालन आय ३ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।
बुधबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार बोटलर्स नेपालको प्रतिसेयर आम्दानी १५८ रुपैयाँ रहेको छ । यस्तो आम्दानी गत वर्षको तुलनमा घटेको हो । गत वर्ष यसको प्रतिसेयर आम्दानी १९१ रुपैयाँ थियो । यस्तै पीई रेसियो १२ रुपैयाँबाट १११ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ ३४ सय २४ रुपैयाँ रहको छ।