वडाअध्यक्षको व्यस्तता: नागरिकको कामसँगै किबीखेतीमा व्यस्त
बागलुङ । बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती गरिरहेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन् ।
तीन वर्षअघि किबीखेती थालेका उनलाई अहिले उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष सय बोटबाट ६ सय क्विन्टल किबी उत्पादन भएको बताए ।
उनले किबीसँगै कागती पनि फलाएका छन् । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताए । वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् ।
दैलेखबाट तीन सय ३० रुपैयाँमा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाए ।
किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताए । हाल स्थानीय बजारमा प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म दुई लाख रुपैयाँ आर्जन गरेको उनले बताए ।
गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए ।
अलैँची पकेट क्षेत्र विस्तारका लागि १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ । रासस