चलचित्र जगतका ‘लायन’ राजेश हमाल बने लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसेडर



काठमाडौं । लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो ।

नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ʻमहानायक’ को रुपमा पनि चिनिन्छ । ब्रान्ड एम्बेसेडरको रूपमा लुम्बिनी लायन्समा आबद्ध भई नेपाली खेलकुदमा पनि आफ्नो प्रेरणादायी उपस्थिति जनाएका छन् ।

ब्रान्ड एम्बेसेडरको रुपमा नियुक्त भएपछि हमालले लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको बताए । आफ्नो विचार राख्दै उनले लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी रहेको दाबी गरे । ‘म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु,’ हमालले भने ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई ब्राण्ड एम्बेसेडरको रूपमा स्वागत गर्दै चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा हामी निकै खुसी बनेको बताए । ‘हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडी बढिरहेका छौं र सोही अनुरुप कप्तान, कन्सुल्टेन्त कोच तथा ब्रान्ड एम्बेसेडर साइन गरेका छौँ । म आफँै पनि लुम्बिनीमै जन्मेको र क्रिकेट खेलसँग पनि भावना जोडिएकोले मलाई गर्वको महसुस भइरहेको छ,’ उनले भने ।

लुम्बिनी लायन्सको यो नयाँ घोषणाले यस प्रान्चाइजका साथै नेपाली खेलकुदमा नै नयाँ उत्साह र ऊर्जा थप्नेछ । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।


क्लिकमान्डु