पत्रकारले भात खान पनि नदिएको दीपक मनाङेको गुनासो
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेले आफूलाई पत्रकारले भात खान पनि नदिएको गुनासो गरेका छन् ।
मंगलबार विहान पक्राउ परेपछि जिल्ला अदालत लगिएका मनाङे थुनामा पठाइएका छन् । त्यसअघि जिल्ला अदालत परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा मनाङेले आफूलाई भात खान पनि नपाएको गुनासो गरेका हुन् ।
मनाङेलाई पत्रकारले केही भन्नु छ भन्दै प्रश्न गरेपछि उनले भने, ‘के गर्नु तिमीहरुले भात खान पनि दिएनौं क्यारे ।’
फैसला कार्यान्वयनका लागि सीआईबीले मनाङेलाई जिल्ला अदालतमा पेस गरेको थियो । फैसला कार्यान्वयन अधिकारीले उनलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएका थिए ।
मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो ।
यसअघि पाटन उच्च अदालतले उनीविरुद्ध ५ वर्ष जेल सजायसहित फैसला गरेकोमा मनाङेले सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए । तर सर्वोच्च अदालतले पनि उच्चको फैसा सदर गिरिदिएको थियो । उनले २ वर्ष आठ महिना कैद सजाय भोगिसकेकाले अब उनले करिब २८ महिना कारागारमा बिताउनुपर्ने छ ।