रविलाई भैरहवा ल्याइयो, सुप्रिम सहकारीको बचत अपचलन आरोपमा बयान लिइने (LIVE)



भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो ।

लामिछानेलाई आज विहानै पोखराबाट भैरहवा ल्याउने तयारी गरिएको भए पनि मौसम प्रतिकुल भएपछि मध्याह्नपछि मात्र उडान भएको थियो ।

लामिछानेलाई भैरहवा ल्याउँदा उनका समर्थकले विमानस्थलअघि नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।

छविलाई यसअघि नै रुपन्देही लगेर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको थियो भने रविलाई रुपन्देही ल्याएर बयान लिन लागिएको हो ।

आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहँदा लामिछानेलाई रुपन्देही लगिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याइएको हो ।

उनलाई विमानस्थलबाट जिल्ला प्रहरी र सरकारी वकिलकहाँ पुराइने र छिटै बयान लिएर पोखरा नै फर्काइने छ ।


क्लिकमान्डु