रवि लामिछानेलाई भैरहवा ल्याइने भएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा



बुटवल । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याउने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

लामिछानेलाई भैरहवा ल्याउनका लागि लागि कास्की प्रहरीले उनलाई पोखरा विमानस्थल पुर्‍याएको छ । तर प्रतिकुल मौसमका कारण उडान भने हुन सकेको छैन । विहान ६ बजेतिरै उनलाई विमानस्थल लगिए पनि उडान हुन नसकेको हो ।

बुध्द एयरको बिहान साढे सात बजेको उडानबाट लामिछानेलाई भैरहवा विमानस्थल लैजाने कार्यक्रम थियो । त्यसका लागि लामिछानेलाई विमानस्थलमा लगिएको हो । विमानस्थलको मौसम प्रतिकुल रहेको र कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

लामिछानेलाई बुटवल ल्याउने भएसँगै रास्वपाले बुटवल केन्द्रित आन्दोलन गर्ने भएको छ । मंगलबार(आज) विहान साढे ११ बजे लुम्बिनी गेट भैरहवामा रास्वपाले ऐक्यबद्धताका लागि उपस्थित हुन आग्रह गरेको छ ।

बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुँदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गर्ने तयारी गरिएको रास्वपा रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माले बताए ।

रविलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लैजाने र त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने तालिका रहेको प्रहरी स्रोतले जनाएको छ ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।

छविलाई यसअघि नै रुपन्देही लगेर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको थियो भने रविलाई रुपन्देही ल्याउने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

कात्तिक २ देखि हिरासतमा रवि

कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने त्यसयता कास्की प्रहरीको हिरासतमा छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका हुन् । उनी २५ दिनयता कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहँदा लामिछानेलाई रुपन्देही लैजाने प्रहरीले तयारी गरेको हो।

रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकका अनुसार सबै समर्थकलाई बुद्धचोकमा प्रदर्शनका लागि बोलाइए पनि पहिले विमानस्थलमै पुगेर प्रदर्शनका लागि शुभेच्छुक पुगेको र भैरहवामा ठूलो समूह प्रदर्शनका लागि आइसकेको जनाए । सो पार्टीका कार्यकर्ता बिहानैदेखि विमानस्थल वरिपरि जम्मा भइसकेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो ।

उनलाई विमानस्थलबाट जिल्ला प्रहरी र सरकारी वकिलकहाँ पुराइने र छिटै बयान लिएर पोखरा नै फर्काइने भएको छ ।

यता सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।


क्लिकमान्डु